PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

बैतडी बस दुर्घटना : भाइटीका लगाउन हिँडेकी विमलाको पुछियो सिन्दूर



एम बम

बैतडी बस दुर्घटना : भाइटीका लगाउन हिँडेकी विमलाको पुछियो सिन्दूर

कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ सलेनाकी विमला कुँवर ऐरी अस्पतालको बेडबाट उठ्ने बित्तिकै श्रीमानको खोजी गर्न थालिन्। उनका डेढ वर्षका छोरा उनीसँगै छन् तर एउटै सिटमा बसेर आधा बाटोसम्म सँगै आएका श्रीमान् भने अहिले उनको वरपर छैनन्।

उनले आफन्तलाई सोधिन्, र एक छिनको सन्नाटापछि आफन्तले भनिदिए, ‘अलिकति कम चोट लागेकाहरूको उतै उपचार भइरहेको छ। उहाँ उतै हुनुहुन्छ।’

तर त्यो झुटो थियो। उनका श्रीमान् अर्थात् करनसिंह ऐरीको मृत्यु भइसक्यो। उनलाई आफ्नो शारीरिक चोट सहने शक्ति थपियोस् भनेर आफन्तले साँचो कुरा बताउन सकेका छैनन्।

विमलालाई आफन्तले झुटो कुरा बताएका हुन भन्ने पनि लागेको छैन, र ढुक्क पनि छैनन्। त्यसैले बेचैन बनेकी उनी अस्पतालको बेडमा नबसेर घरी बाहिर डुल्छिन्, घरी कुरुवाहरू बस्ने बेन्चमा बस्छिन्।

काखमा डेढ वर्षको छोरा लिएर अस्पताल परिसरको बेन्चमा टोलाइरहेकी विमलाका लागि हिजोको दिन कालो दिन बन्यो। भाइटिका लगाउन बैतडी खोचलेकबाट माइती आउने बस चढेकी उनी आफू त बचिन् तर श्रीमान् भने गुमाउनु पर्‍यो। तीन वर्ष अघिमात्रै बिहे भएको थियो उनीहरुको।

बस दुर्घटना भएको समय राती सवा १० बजेपछि के के भयो उनलाई केही थाह छैन।

अहिले धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत उनको टाउको र गर्दनमा चोट लागेको छ। उनका छोराको अवस्था भने सामान्य छ।

विमलाका माइती तर्फका आफन्त मुकुन्द कुँवरका अनुसार केही समय पहिले काठमाण्डौंमा निजी बैङ्कमा काम गरेर घर फर्किएका करनसिंह ऐरी लोक सेवा आयोगको तयारी गर्न भाइटिका पछि फेरी काठ्माण्डौं जाने तयारीसहित माइती हिँडेका थिए।

बसको स्टेरिङले काम नगरेपछि उक्त दुर्घटना भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell