PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

चलचित्र क्षेत्रले छिट्टै कोल्टे फेर्छ : सञ्चार मन्त्री पार्वत गुरुङ



पहिलोपोस्ट

चलचित्र क्षेत्रले छिट्टै कोल्टे फेर्छ : सञ्चार मन्त्री पार्वत गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले चलचित्र विकास बोर्ड अनुगमन गरेका छन्। चलचित्र क्षेत्रको हालको अवस्था एवं समस्या बुझ्न उनी शुक्रवारका दिन मन्त्रालयका सचिव र तीन सहसचिवहरूसहित बोर्डमा पुगेका हुन्।

मन्त्री गुरुङले बोर्डका सबै समस्या र बस्तुस्थिति बारे जानकारी लिएपछि चलचित्र क्षेत्रले छिट्टै कोल्टे फेर्ने दाबी गरे। त्यसका लागि आवश्यक सहयोग गर्ने बताएका छन्।

मन्त्री गुरुङले बोर्डमा निर्मित नवरस सभा कक्षको उद्घाटन समेत गरे। बोर्डले बैठक, तालीम र चलचित्र अवलोकन गर्नका लागि साउण्ड प्रुफ गरी ५.१ सराउण्ड साउण्ड सिस्टम, पब्लिक एड्रेसका सामाग्रीहरु सहितको सभा कक्षको निर्माण गरेको हो।

उद्घाटन समारोहमा बोर्डका अध्यक्ष दाहालले कोरोना प्रभावका कारण चलचित्र क्षेत्र शून्य अवस्थामा पारेको बताए। जसका कारण हजारौं चलचित्रकर्मीहरु बेरोजगार हुनुपरेको र प्रभावितका लागि विशेष प्याकेज र यस क्षेत्र तत्काल पुन: सञ्चानका लागि आवश्यक सहयोगको माग गरे। विदेशी चलचित्रको प्रदर्शनबाट उठ्ने चलचित्र विकास शूल्कबाट नेपाली फिल्मको प्रवद्र्धन र विकास गर्न सम्भव नभएकाले छुट्टै बजेटको व्यवस्थापनका लागि समेत आग्रह गरे।

त्यस्तै विभिन्न देशमा अवैतनिक चलचित्र प्रतिनिधि नियुक्ति र चलचित्र विधेयक पास गरी नीति तथा योजनाहरु कार्यान्वयन गर्न सहयोग पुर्‍याउन समेत आह्वान गरे। मौलिक नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लाने र प्रचार प्रसार गर्नुपर्ने हुँदा त्यसको लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बोर्डले जनाएको छ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले वस्तुस्थितिमा देखिएका समस्याहरु मन्त्रालयको तर्फबाट समन्वय गर्दै समाधान गरिने बताए।

मन्त्री गुरुङले समस्याहरुको पहिचान गरी क्रमशः रुपमा समाधान गर्दै जाने बताए। नेपाललाई फिल्म सुटिङ्गको लागि केन्द्र र आकर्षण बानाउने गरी काम गर्न मन्त्री गुरुङ्गले बोर्डलाई निर्देशन दिएको बोर्डले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। कोरोना भाइरसको जोखिम अन्तर्राष्ट्रियस्तरमै हाबी भईरहेकोले यसको प्रभाव नेपाल र फिल्म क्षेत्रमा पनि भएको जिकीर गर्दै सक्दो चाँडो सम्बोधन गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell