सुर्खेत : लेकबेशी नगरपालिका-४ का महेन्द्रकुमार खड्काले डिग्रीसम्मको अध्ययनको क्रममा कोरियन भाषा पास गरेर उनी रोजगारीका लागि कोरिया पुगे। डिग्री सकाएका उनलाई स्वदेशमै रोजगारीको अवसर नभएको भने होइन। अस्थाई वा प्राईभेट भएपनि रोजगारी गर्न अफर आएकै थिए। तर, पनि उनलाई कोरिया जाने सपना त्याग्न सकेनन् र कोरिया हानिए।
कोरियामा काम गर्दा डेढ लाखदेखि शुरु गरेको मासिक तलब पछि साढे दुई लाखसम्म पुग्यो। तर, पनि स्वदेश अर्थात जन्मथलोको यादले उनको मन पिरोलिन्थो। उनले कोरियामै रहँदा सोचे कोरिया आउँदा लागेको लगानी र कोरिया बसाईमा गरेको परिश्रम जतिकै लगानी र परिश्रम गरे नेपालमै केही गर्न सकिन्छ। करिब पाँच वर्ष बिताएर उनी नेपाल फर्किए।
गाउँ पर्किएसँगै कोरिया जाँदा गरेको लगानी र खर्चले गाउँघरमै केही गर्ने योजना बुने।
‘डिग्री पढ्दा पढ्दै कोरियन भाषा पढेर पास गरियो अनि कोरिया गइयो’, उनले भने, ‘कोरिया जाँदा गरेको लगानी, खर्च मेहनतले हाम्रै देशमा केही गर्न सकिने सम्भावना देखेँ, सोही अनुसार मासिक दुई, ढाई लाखको रोजगारी छोडेर गाउँ फर्किएँ।’
गाउँ फर्किएसँगै उनले कोरियन प्रविधिकै व्यवसायमा आधारित कोरियन वाल फमको व्यवसाय शुरु गरे। उनले कोरियामै देखेको र सिकेको अनुभवले स्वदेशमा यो व्यवसाय शुरु गरेका हुन्।
‘यहाँ भएको भन्दा अलि फरक खालको व्यवसाय शुरु गरौँ भनेर मैले कोरियामा देखेको, थाहा पाएको वाल फमको व्यवसाय शुरु गरेको छु’, उनले भने, ‘अहिले यहाँका नागरिकलाई कोरियन वाल फम भनेको के हो र यसको विशेषताबारे खासै धेरैलाई थाहा छैन, विस्तारै यसबारे जानकारी दिन सके निकट भविष्यमा व्यवसाय फस्टाउँछ नै।’
उनले यो वाल फम कोरियाबाट नै मगाउँछन्। यसको व्यापार व्यवसाय बढ्दै गए उनले निकट भविष्यमै थ्रिडी कोरियन वाल फमको योजना बनाएका छन्। त्यत्तिमात्रै होइन उनले दाङ, बुटवलसम्म व्यवसाय विस्तारको आन्तरिक तयारी समेत गरेका छन्।
‘कोरियन वाल फम भनेको हामीले भुँइमा कार्पेट बिछ्याए जस्तै भित्ताहरुमा लगाउने हो भन्ने बुझेपछि पछिल्लो समय सबैको जिज्ञासा बढेको छ भने, माग बढ्ने क्रममा छ’, खड्का भन्छन्, ‘यस्तो खालको व्यवसाय खासै नभएकाले अन्य ठूला शहरहरु दाङ, बुटवलतिर पनि सम्भावना छ। निकट भविष्यमा त्यहाँ साथीहरुसँग कोअर्डिनेसन गरेर शुरु गर्ने कि भन्ने योजना छ।’
त्यस्तै, वीरेन्द्रनगरका लक्ष्मीप्रसाद ढकाल पनि सन् २०११ मा दक्षिण कोरिया पुगेका थिए। उनी अहिले सुर्खेतमै गार्मेन्ट उद्योग सञ्चालन गरेका छन्। उनले पनि कोरियामा पाँच वर्ष बिताउँदा सिकेको ज्ञानसिपबाटै गार्मेन्ट उद्योग शुरु गरेको सुनाउँछन्।
‘पाँच वर्ष कोरियामा बिताइयो, त्यहाँ जाँदा गरेको खर्च र कोरिया पुगेर गरेको परिश्रमले नै स्वदेशमै केही गर्न सकिने सम्भावना देखेँ’, उनले भने, ‘अनि मैले कोरियामा हुँदा देखेको बुझेको यहाँ कुन व्यवसायको सम्भावना होला भनेर बुझ्दै गए अनि मैले गार्मेन्टनै शुरु गर्नुपर्छ भन्ने लाग्यो अहिले मासिक एकदेखि डेढ लाख आम्दानी भइरहेको छ।’
गार्मेन्टमा आफूमात्रै नभएर कोरोना महामारी आउनुअघि प्रत्यक्ष रुपमा १८ जनालाई रोजगारी दिएका थिए। त्यसयता भने अहिले वीरगंज, सिरहा लगायतका मजदुर गरेर १४ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। यसरी आफूले शुरु गरेको व्यवसायबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन्।
‘आफ्नै गाउँघरमा व्यवसाय चलेको छ’, ढकाल भन्छन्, ‘आफू मात्रै नभएर दुई चार जना अरुलाई पनि रोजगारी सिर्जना भएको छ।’
वैदेशिक रोजगारीमा गएका युवाहरुले सिकेको ज्ञान सिप प्रयोग गरेर पछिल्लो समय स्वदेशमै व्यवसाय शुरु गर्ने क्रम बढ्दो छ। उनीहरुले व्यवसाय शुरु मात्रै नभएर रोजगारी समेत दिएका छन् भने आम्दानी समेत राम्रै गरेका छन्।
विदेशबाट फर्केर पेशा व्यवसाय गर्ने यि दुई युवा त उदाहरण मात्रै हुन्। उनीहरु जस्तै विदेशको ज्ञान सिप स्वदेशमै लगाएर पेशा व्यवसाय गर्नेको संख्या बढ्दो छ। विदेश जाँदा लागेको लगानी, विदेश पुगेर गरेको मेहनत, परिश्रमले स्वदेशमै केही गर्न सकिने उनीहरुको भोगाइ छ।
‘हामी खाली विदेश, विदेश भन्छौँ, विदेशमा गएर पनि पैसा त्यत्तिकै फल्दैन्, नेपालमा भन्दा बढी दुःख गर्नुपर्छ’, खड्का भन्छन्, ‘लाखौँ खर्च गरेर विदेश जानुभन्दा थोरै लगानी गरे आफ्नै गाउँठाउँमा केही न केही पेशा व्यवसाय गर्न सकिन्छ। घरकै एक गास खाएर, परिवारसँगै भएर राम्रै जीवन चलाउन सकिन्छ।’
विदेशको सपना देख्नेहरुका लागि समेत उनी स्वदेशमै मेहनत, परिश्रम गरे विदेशको भन्दा बढी आम्दानी गर्न सकिने सल्लाह दिन्छन्।