PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

छाङरुमा गृ‌हमन्त्रीले महिना दिनमा बन्ने गरी शिलान्यास गरेको सशस्त्र गुल्म भवन निर्माण अलपत्र, बाँकी काम चैतबाट भन्दै हिँडे ठेकेदार



कमलराज भट्ट

छाङरुमा गृ‌हमन्त्रीले महिना दिनमा बन्ने गरी शिलान्यास गरेको सशस्त्र गुल्म भवन निर्माण अलपत्र, बाँकी काम चैतबाट भन्दै हिँडे ठेकेदार

दार्चुला (छाङरु) : गृहमन्त्री रामबहादुर थापाले असोज २९ गते छाङरु पुगेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म भवनको शिलान्यास गरे। असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सदरमुकाम खलंगामा रहेको गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णयपछि गृहमन्त्री थापा सशस्त्र आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र एआईजी रामशरण पौडेलसहित सेनाको हेलिकोप्टर लिएर दलबलसहित छाङरु पुगेका थिए।

शिलान्यास कार्यक्रममा एक महिनाभित्रै तत्काललाई बस्न मिल्ने गरी निवासका लागि एक तला ठड्याउने घोषणा गरियो। ठेकेदार कम्पनी, सशस्त्र प्रहरीका सम्बन्धित अधिकारी र स्वयं गृहमन्त्रीले यसै हिउँदमा गुल्मका सुरक्षाकर्मीले आफ्नै भवनमा बस्न पाउने उल्लेख गरे। गृहमन्त्रीको टोली घोषणा गरेर फर्कियो। आफ्नै भवनमा बस्न पाउने भनेर सुरक्षाकर्मी पनि उत्साहित भए। तर भाषणमा भनेजस्तो काम भने भएन।

कात्तिक सकेर मंसिर लाग्दा पनि भवन निर्माणको काम एक प्रतिशत पनि पूरा भएको छैन। अझ अहिले त काम नै रोकिएको छ। निर्माण कार्य अलपत्र परेको छ। गुल्म अहिले पनि जितसिंह बोहराकै होटलमा भाडामा बसिरहेको छ। जति जति चिसो बढ्दै सशस्त्र प्रहरी कर्मचारीको चिन्ता पनि उत्तिकै बढ्दैछ। ७ फिटसम्म हिउँ जम्ने छाङरुमा यो हिउँद कटाउने जुगाडमा सशस्त्रका कर्मचारी लागेका छन्। अहिले छाङरुमा गुल्मको कमाण्ड डीएसपी धिरेन्द्र शाहले गरिरहेका छन्। १६० जना जनशक्ति दरबन्दी भए पनि पूर्वाधार अभावका कारण उनीसँग जम्मा ६१ जना छन्।

गुल्मपति शाहका अनुसार जग हाल्ने काम पनि पूरा भएको छैन। कात्तिक तेस्रो सातादेखि निर्माण कार्य ठप्प छ। 'एक महिनाभित्र एक तलासम्म आउँछ भन्या थिए। अहिले निर्माण कार्य रोकिएको छ,' उनले भने, 'कामदार सबै गइसकेका छन्। स्थानीय कामदार पनि काममा आएका छैनन्।'

ठेकेदार कम्पनीले चैतदेखि सुरु गर्ने भनेर जानकारी गराएर हिँडेको डीएसपी शाहले बताए। तर चैतमा छाङरुमा हिउँ नै हुन्छ। काम गर्न सम्भव नहुने स्थानीय बताउँछन्। स्थानीयले अहिले मौसम राम्रै भएको र घाम लागेको भए पनि ठेकेदार कम्पनीले चिसो बढ्यो भनेर काम छाडेर गएको बताए। 'काम गर्नका लागि मौसम राम्रो थियो। खै किन हो चिसो बढ्यो भनेर हिँडे। बोलेको काम त पूरा गर्नुपर्छ नि,' स्थानीय जितसिंह बोहराले भने।

ठेकेदार कम्पनीले काम रोकेको जानकारी जिल्ला र केन्द्रमा भने छैन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले काम रोकेकोबारे जानकारी नभएको बताए। 'कात्तिकमा एक तला (२० कोठा) बनाउँछौं भनेको हो। काम रोकेकोबारे जानकारी छैन,' डीआईजी अर्यालले भने।

भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १२ किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी गुल्म भवन निर्माणका लागि भदौ अन्तिम साता १० करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ। एक वर्षभित्रै निर्माण सक्ने गरी ठेक्का सुरेश चन्दको ग्वाल्लेक कन्सट्रक्सनले लिएको छ। यसबारे ठेकेदार चन्दसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।

के के संरचना बनाइँदैछ?

गुल्मपति शाहका अनुसार ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवन हिमपातका समयमा समेत बस्नलायक बनाइने छ। ढुंगा, माटो र काठबाट भवनको छतमा कर्कटपाता राखिनेछ।

ब्यारेक भवनसहितको ५ रोपनी क्षेत्रफलको जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छ। हाल तीन तलाको ब्यारेक भवन निर्माणको योजना छ। गुल्म परिसरमा शौचालय, ब्यारेक भवन, कार्यालय भवन र प्रवेशद्वार पनि बनाइने छ। निर्माण सामग्री हेलिकोप्टरबाट ढुवानी गरिसकिएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतसँग सीमा विवाद बढेपछि सरकारले व्यास गाउँपालिका एक छाङरुमा सुरुमा सशस्त्र बीओपी र पछि गुल्म राखेर सैन्य उपस्थिति बढाउँदै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell