काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताएका छन्। आइतवार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताएका हुन्।
मन्त्री भट्टराईले सो कार्यको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लागत तयार गर्न निर्देशन दिए। उनले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउँदै त्यसको लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने र आधारभूत सेवा नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने प्रस्ट पारे। उनले एयरपोर्ट सुरक्षामा ध्यान दिनु पर्ने बताउँदै एक्सरे मेसिन, लगेज बेल्टको प्रस्ताव पठाएमा बजेटको व्यवस्था गरिदिने समेत बताए।
मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज, हिमाल, जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकोले सूचना केन्द्र आवश्यक रहेको बताए। उनले सगरमाथा क्षेत्र, शेर्पा संस्कृति जानकारी, ऐतिहासिकता, ट्रेकिङ रुट तथा पर्यटकीय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास व्यक्त गरे। उनले आर्थिक समृद्धिको लागि उत्पादनमा जोड दिन आग्रह गर्दै किबी स्याउ, पशुपालनमा लाग्न सो क्षेत्रका बासिन्दालाई अनुरोध गरे।
पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भवनको उचित प्रयोग गरी पर्यटन सम्बन्धी सूचना दिने उपयोगी बनाउन आग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्ययन थालिएको बताए। खुम्बु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टाँसील्हामु शेर्पाले मन्त्रीको पटकपटकको ताकेताले मात्रै समयमै भवन निर्माण भएको दाबी गर्दै विमानस्थल थप व्यवस्थित बनाउन माग समेत गरे। सूचना केन्द्र ३ करोड ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको हो।
