PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

आर्थिक नगरी वीरगंजमा कोरोनाका कारण दीपावली फिक्का



पहिलोपोस्ट

आर्थिक नगरी वीरगंजमा कोरोनाका कारण दीपावली फिक्का

वीरगंजः मुलुकको प्रमुख मध्येको एक आर्थिक नगरी वीरगंजको यस वर्षको दीपावली फिक्का रहयो। परम्पराको निरन्तरता र हर्षोल्लासको संगमको रुपमा मनाइँदै आइएको दीपावलीको रौनक गत वर्ष जस्तो महसुस नगरिएको वीरगंजवासीले बताएका छन्। लामो समयदेखि देशले झेलिरहेको कोरोना महमारीका कारण हरेक क्षेत्रमा चौतर्फी असर पारेको अवस्थामा यस वर्षको चार्डपर्व पनि विगतको जस्तो नभएको हो।

लक्ष्मी पूजाको दिन वीरगंजको आदर्शनगर, माइस्थान, लिंकरोड, विर्ता, रेशमकोठीलगायतको क्षेत्रमा विशेष किसिमले टोलटोलमा झिलिमिली बालेर दीपावली उत्सव मनाइँदै आएकोमा कोरोनाका कारण साधारण रुपमा मनाइएको हो।

आदर्शनगर ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार यस वर्षको चाडपर्व कोरोनाका कारण भीडभाड नगरी मनाइएको बताए। गत वर्ष अढाई लाख रुपैयाँ खर्च गरेर दीपावली मनाइएकोमा यो वर्ष औपचारिकतामा मात्र सीमित भएको खेतानले बताए।

‘सबै जनाको सेवा, व्यवसाय क्षेत्रमा कोरोनाले ठूलो क्षति पारेको छ। डरका बीच चाड मनाउनु परेको छ,’ उनले भने, ‘धुमधामको सट्टा फिक्का भए पनि लक्ष्मी पूजा मनाएका छौँ।’

वीरगंजका मारवाडी समुदायले पनि धनतेरश र दीपावलीको दिन विशेष पूजापाठ गरी घर तथा व्यवसायमा माता लक्ष्मीको पूजा गर्ने गरे पनि यो वर्ष साधारण खर्चमा पूजा समापन गरेका छन्।

वीरगंज उद्योग वाणिज्य संघका सदस्य तथा उद्योगी मुरली जालानले भने, ‘सबै जना उदास छन्। उद्योग कलकारखाना व्यवसाय पसलमा घाटा लागेको छ। त्यस कारण पनि यस वर्षको दीपावली सोचेअनुरुप नभएको हो।’

वीरगंज कोरोनाको केन्द्रविन्दु बन्दा ५० जनाको मृत्यु भइसकेको छ। दुई हजार ९८४ जना संक्रमित भइ करिब दुई हजार ८०० जना निको भएका छन्। अहिले पनि करिब सय जना सक्रिय संक्रमित पर्सामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell