PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

उपल्लो डोल्पामा चार महिनासम्म पनि पुगेनन् स्वास्थ्यकर्मी



पहिलोपोस्ट

उपल्लो डोल्पामा चार महिनासम्म पनि पुगेनन् स्वास्थ्यकर्मी

डोल्पाः उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ। स्वास्थ्य चौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो। अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन्।

शे–फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन्। स्वास्थ्य चौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का बासिन्दा तेजेन्द्र गुरुङ्गले बताए।

“गत साउनदेखि शाही र बानु गायब छन्, स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एक पटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो”, गुरुङ्गले भने।

साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाइ छ।

स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उहाँहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको गुरुङ्गको भनाइ छ। स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चार माध्यमलाई जानकारी गराइएको बताइएको छ।

तीनै जना कर्मचारीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरे पनि अझै नर्फकिएको वडा नं ८ का अध्यक्ष निमा लामाले बताए।

“स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहाँ छैन्, कति बिरामी आउँछन् कस्ता बिरामि आउँछन् त्यसको रेकर्ड पनि छैन्, उनीहरुले नियमित कार्यालयमा नपुगेरै तलब खाने काम गरेका छन्”, लामाले भने।

स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, र्‍याची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell