PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

न्हूदँको पहिलो साँझ काठमाडौंमा यस्तो देखियो म्हपूजाको दृश्य

न्हूदँको पहिलो साँझ काठमाडौंमा यस्तो देखियो म्हपूजाको दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंका नेवार समुदायले सोमबार म्हपूजा गरेका छन्। म्ह अर्थात शरीर। नेपाल संवत् सुरु हुने दिन कछ्लाथ्व पारुको साँझ आफ्नै शरीरको पूजा गरेर म्हपूजा गर्ने गरिन्छ। यसपटकपनि स्वन्ति (तिहार) मा तिथि विवाद हुँदा काठमाडौं उपत्यकाकामा आइतबार समेत म्हपूजा गरिएको थियो। आइतबार ललितपुर र भक्तपुरमा रहेका नेवार समुदाय र काठमाडौंमा समेत केहीले म्हपूजा गरेका थिए। काठमाडौंमा भने अधिकांशले सोमबार नै म्हपूजा गरेका हुन्।  

म्हपूजा नेवार समुदायको मौलिक संस्कृति हो। शंखधर साख्वा: ले जनताको ऋणमोचन गरेर नेपाल संवत् प्रारम्भ हुनुअघि देखि नै म्हपूजा गर्ने चलन सुरु भइसकेको इतिहास छ। पछिल्लो समय भने बिहान न्हूदँ (नयाँ वर्ष) नेपाल संवत् को स्वागत गर्दै साँझ म्हपूजा गर्ने गरिएको छ।

म्हपूजामा परिवारका सबै सदस्य सहभागी हुन्छन्। यसदिन बिहानै घर सफा गरिन्छ र साँझ म्हपूजा गर्ने स्थानमा भुँइ लिपिन्छ। लिपेको स्थानमा परिवारका सबै सदस्य सहित देवता र यमदूतलाई समेत मन्द: (मण्डल) बनाइन्छ। मण्डलको आकार एउटै हुनुपर्छ भन्ने छैन। विभिन्न स्थानमा विभिन्न आकारको मण्डल बनाउने गरिन्छ।

अबिर, लावा, अक्षता, कालो भटमास, मास लगायत मण्डलमा राखिन्छ। यस्तै, मण्डलको अगाडी त: सिब्व (भोगटे, बिमिरो, फलफूल, सयपत्रि फूल, कटुस आदि) र खेलुइता: राख्ने गरिन्छ। यो सबै सकेपछि मण्डल बनाइएको स्थानमा परिवारको जेष्ठताको आधारमा क्रमसँगै बस्ने गरिन्छ। अन्तिममा भने कुचो राख्ने गरिन्छ।

सुकुन्दा बालेर गणेशको पूजा गरेपछि परिवारका सबै सदस्यहरुको पालैपालो पूजा गर्ने गरिन्छ। सबैले मण्डल पूजा गरेपछि रोलक्रम अनुसार सबैलाई तीनपटक सिंफ लुइगु (फूल,अक्षता, ओखर, अमला इत्यादिको मिलाएर टाउको ख्नयाउने) गरिन्छ।

त्यसपछि क्रमसँगै रातो टीका,  धौ (दही) सिन्ह लगाएर खेलुइता: बाल्ने गरिन्छ। खेलुइता: ननिभेसम्म उठ्न हुँदैन भन्ने मान्यता छ।

त: सिब्वको पूजा गरेपछि सबैलाई अण्डा, माछा,बारा, अय्ला (अहिले कोल्ड ड्रिंक्स पनि) सगुनको रुपमा दिने गरिन्छ। त्यसपछि कुचोको पूजा गरेर मण्डललाई अन्तिम दिने बढार्ने गरिन्छ। त्यसपछि परिवारका सबैजना मिलेर भोज खाने गर्छन्। ठाउँ अनुसार म्हपूजा गर्ने विधि फरक हुनसक्छ।

म्हपूजाका लागि बनाइएको मण्डल र जुठो भने भोलिपल्ट भाइटीकाका दिन बिहानै मात्रै उठाएर सफा गर्ने गरिन्छ।    

हाल म्हपूजा नेवा: समुदायमा मात्रै सीमित छैन। अन्य समुदायहरु समेत यस पर्वमा सहभागी हुने क्रम बढ्दो छ। यस्तै, विदेशमा रहेका नेवार समुदायले पनि म्हपूजालाई विधिपूर्वक मनाउने गर्छन्।

काठमाडौंको सोह्रखुट्टेका भुयु मर्हजनको घरमा सम्पन्न म्हपूजाका तस्विरहरु :



ट्रेन्डिङ पोस्ट

Ncell