PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

त्यो विजयी र्‍याली जसले भिख माग्दै गरेका भारतीय इन्स्पेक्टरको जीवनमा ल्यायो नयाँ मोड



पहिलोपोस्ट

त्यो विजयी र्‍याली जसले भिख माग्दै गरेका भारतीय इन्स्पेक्टरको जीवनमा ल्यायो नयाँ मोड

मध्य प्रदेशको ग्वालियरस्थित स्वर्ग सदन आश्रम। आजकल त्यहाँ प्रहरी अधिकारीहरूको चहलपहल देखिन्छ, मनीष मिश्रालाई भेट्नका लागि।

मनीष मिश्रा वर्षौंदेखि सडकमा बस्दै आएका थिए। उनी आश्रममा पुगेको केही मात्र भयो। उनलाई भेट्न आउने प्रहरी ती हुन् जो पहिले उनको ब्याचमेट थिए।  

स्वर्ग सदन आश्रमका सञ्चालक पवन सूर्यवंशीले भने,’हाल निकै आरामले बसेका छन्। उनलाई आवश्यक रेखदेख गरिएको छ। उनका ब्याचमेटहरू भेट्न आउँछन्। उनीसाग बिताएका पूराना दिनरूको सम्झना गर्छन्।‘

उनी अझै ४ देखि ५ महिना त्यही रहन्छन्। उपचारका लागि।

मनीषको जिन्दगीको यो अध्यायको कथा १० वर्ष अघिदेखि सुरु हुन्छ। जहाँबाट नयाँ मोड सुरु भयो।

सन् २०१०, नोभेम्बर। त्यतिखेर ग्वालियरमा उपचुनावको मतगणना भइरहेको थियो। त्यस रात करिव साढे १ बजे पुलिस विभागका दुई डिएसपी, रत्नेश सिंह तोमर र विजय भदौरिया सुरक्षा व्यवस्थामा खटेका थिए। शहरमा मतगणना सकिएपछि ती दुवै डिएसपी विजयी जुलुसको रुटमा तैनाथ थिए। त्यतिखेर उनीहरूले एक भिखारीलाई देखे, जाडोले काँपीरहेको अवस्थामा। देख्न सकेनन्। गाडी रोकेरै नजिक पुगे।

उनको अवस्था नाजुक थियो। ती प्रहरी अधिकारीको मन थामिएन। एकले आफ्नो जुत्ता खोलेर दिए र अर्कोले ज्याकेट। त्यहाँबाट फर्कन खोज्दा ती भिखारीले उनीहरू दुवैलाई नामले पुकारे। उनीहरूका लागि त्यो अवस्था अविश्वसनीय थियो। सन्देहबीच ती भिखारीको नजिक गए। कुराकमी गरे। थाहा पाए – ती भिखारी त इन्स्पेक्टर मनीष मिश्रा हुन्। उनीहरू एकसाथ सब इन्स्पेक्टरमा भर्ती भएका थिए।

मनीष मध्य प्रदेश पुलिसको सन् १९९९ ब्याचका अधिकारी हुन्। उनी अचूक निशानाबाज समेत हुन्। उनी पछिल्लो १० वर्षयता यसैगरी सडकमा जीवन चलाइरहेका छन्। ग्वालियको झांसी रोड इलाकामा।

रत्नेश सिंह तोमर भन्छन्, ‘उनको त्यो हालत मानसिक रुपले बिरामी हुनुले बनायो। पहिले उनी परिवारसँगै बस्थे। तर पछि उनी घरबाट भाग्न थाले। आफ्नो साथीलाई त्यो अवस्थामा देख्दा निकै गाह्रो भयो।‘

त्यसरात उनीहरूले मनीषलाई आफूसँगै लिएर जान खोजेका थिए। तर, मानेनन्।

त्यसपछि हो रत्नेशले समाज सेवी संस्थामार्फत् आश्रम पठाएका हुन्।

मिश्रा शिवपुरीका हुन्। त्यहाँ उनका वृद्ध आमाबुवा मात्र छन्। बहिनी चाहिं चीनमा छिन्।  

परिवारसँग सम्पर्क गर्न खोज्दा प्रयास असफल रह्यो। आश्रम संचालक पवन सूर्यवंशीका अनुसार बहिनीले भने समय समयमा फोन गरेर उनको हाल सोध्छिन्।

मनीष मिश्रा सन् २००५ सम्म सेवामा खटिए। त्यस समय उनी दतिया जिल्लामा थिए। त्यसपछि उनको मानसिक सन्तुलन गुम्दै गयो। मानिसक बिरामी भएको ५ वर्षसम्म त घरमै रहे। त्यसपछि उपचारका लागि एक सेल्टरमा लगे जहाँबाट उनी भागे। परिवारलाई पनि थाहा थिएन कहाँ गए। त्यतिन्जेल उनकी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको थियो।

आश्रम सञ्चालकका अनुसार हाल मनीषका ब्याचमेट प्रहरीहरूले फोन गर्छन्। आश्रमलाई सहयोग गर्छन्। भेट्न आउनेहरू पनि केही सहयोग नगरी फर्कदैनन्। ग्वालियरको सडकमा भिख मागेर गुजारा चलाइरहेका यी प्रहरी इन्स्पेक्टर पुन: सामान्य जीवनमा फर्काउनका लागि हर सम्भव कोसिस गरिरहेका छन् सबै। 

बीबीसी हिन्दीबाट भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell