PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ब्रिटानिया नेपालमा मजदुर हड्ताल जारी : कम्पनीको जवाफ, 'राजनीति गर्नेलाई निकालिएको हो, आन्दोलनको अर्थ छैन'



राधेश्याम पटेल

ब्रिटानिया नेपालमा मजदुर हड्ताल जारी : कम्पनीको जवाफ, 'राजनीति गर्नेलाई निकालिएको हो, आन्दोलनको अर्थ छैन'

वीरगंज : बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिमा पुनः मजदुर हड्ताल शुरु भएको छ। वीरगंज-२१ लिपनविर्ता(परवानीपुर)मा रहेको उद्योग परिसरमा विगत १० दिनदेखि मजदुर नेताहरुको नेतृत्वमा धर्ना प्रदर्शन भइरहेको छ। उद्योग व्यवस्थापन पक्षले उद्योगका १२ जना स्थायी मजदुरहरुलाई कामबाट गैरकानुनी किसिमले निकालेपछि उनीहरुको पुर्नबहालीको माग गर्दै मजदुहररु उद्योगको उत्पादन ठप्प पारी आन्दोलनमा उत्रिनु परेको बताएका छन्।

नेपाली काँग्रेस निकट कारखाना श्रमिक संघ इकाई अध्यक्ष राजेश्वर महतो कोइरीका अनुसार उद्योगले बिना आधारको आरोप लगाउँदै स्थायी मजदुर सुनेश महतो तात्वा, रविन्द्र दास, वीरेन्द्र महतो, अजिज मियाँ, हसरोद्दीन देवान, कमोदकुमार यादव, लालबाबू महरा, सुनिल साह, श्रीकान्त पटेल, सुशिल पटेल, रामकिशोर पटेल, पप्पु साह कलवारलगायत १२ जनालाई कामबाट हटाएको छ। श्रम ऐन आचरण  विपरित गतिविधि गरेको भन्दै उद्योग व्यवस्थापन पक्षले उनीहरुलाई हटाएको हो।

उद्योगले हडतालको कारण उत्पादन,निकासी पैठारीसमेत प्रभावित भएको छ। यता, मजदुरहरुका अनुसार गत कार्तिक २२ गते मजदुरहरुले उद्योगमा बन्द हडताल गरेको सूचनामा उल्लेख भए तापनि त्यो दिन सार्वजनिक विदा अर्थात शनिवारको दिन भएको र यस्तै धेरै झुटो आरोप लगाएको बताएका छन्। मजदुरहरुको हकमा बोल्ने मजदुर नेताहरुलाई तह लगाउन १२ जनालाई हटाउने रणनीतिमा उद्योग रहेको उनीहरुको ठम्याई छ। मजदुर ट्रेड यूनियन कारखाना श्रमिक संघ इकाइ अध्यक्ष कोइरीले जबसम्म १२ जनाको पुर्नबहाली हुदैन तबसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यता,कारखाना प्रबन्धक प्रबोध खेरका अनुसार हरेक समय उद्योगको बदनामी गर्न मजदुरहरुले बन्द हड्ताल गर्ने गरेको दाबी गरे। उनले निकालिएका मजदुरहरुको सम्बन्धमा कुनै सम्झौता नगर्ने कम्पनीको रणनीति रहेको बताए। उनले भने,‘उद्योगमा राजनीति गर्ने र विभिन्न खराब आचरण गर्ने मजदुरलाई निकालिएको छ, उनीहरु अदालती बाटोबाट आफ्नो हक अधिकार खोजुन, उद्योग ठप्प पारी आन्दोलनको कुनै अर्थ छैन।’ उद्योगले १२ जनालाई उद्योगबाट हटाएकोमा ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न पाउने छन्। ब्रिटानिया नेपाल प्रालिले गुड्डे, टाइगर क्रन्च, डाइजेस्टिभ र म्यारी गोल्डलगायत बिस्कुटहरु उत्पादन गर्दै आएको छ। डेढ वर्ष पहिले एक अर्ब १३ करोडमा स्थापना भएको उद्योगमा भारतको वाडिया समूहको लगानी छ। यो उद्योग शुरुमा बाराको सिमरामा स्थापना गर्ने योजना रहे तपानि जग्गा नपाएकोले वीरगंजका उद्योगी अशोक वैद्यले करिब अढाई विघा जग्गा बेचेपछि कम्पनी स्थापना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell