पछिल्लो समय सीमा क्षेत्रमा देखिएको तनाबपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङ आमनेसामने हुँदैछन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा हुन लागेको ब्रिक्स सम्मेलनको क्रममा दुई नेता आमनेसामने हुन लागेका हुन्।
ब्रिक्स स्थापनापछि पहिलो पटक भर्चुअल रुपमा मस्कोले ब्रिक्सको १२ औं शिखर सम्मेलनको आयोजना गर्दैछ। सम्मेलनमा सदस्य राष्ट्रहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुँदैछ।
यस सम्मेलनमा विश्वब्यापी मुद्दाहरुका साथै कोभिड-१९ पान्डेमिक विरुद्धको लडाई, प्रतिआतंकवाद, व्यापार, उर्जालगायतका क्षेत्रमा बहुपक्षीय छलफल हुने बताइएको छ।
पछिल्लो एक महिनामा मोदी र सी आमनेसामने हुन लागेको यो दोस्रो पटक हो। यद्यपि, यस सम्मेलनका क्रममा चीन र भारतबीच द्वीपक्षीय छलफल हुने सम्भावना भने न्यून छ। सम्मेलन अगाडि नै रुसले सम्मेलनमा द्वीपक्षीय मुद्दामा छलफल नहुने स्पष्ट पारिसकेको छ।
यद्यपि, भारत र चीनले सम्मेलनमा सहभागिताको फाइदा लिन सक्ने बीबीसी हिन्दीले जनाएको छ।
त्यस्तै रियादले २१-२२ नोभेम्बरमा जी २० सम्मेलनको आयोजना गर्दै छ। यो सम्मेलनमा पनि दुई नेताहरुबीच आमने सामने हुनेछन्। यद्यपि, यस सम्मेलनमा पनि द्वीपक्षीय छलफल हुने सम्भावना कम रहेको छ।
