काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली आज सम्पन्न मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज अन्तर्गतको दोस्रो खेलमा बंगलादेश 'बी'सँग बराबरीमा रोकिएको छ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा भएको खेलमा गोलरहित बराबरीमा रोकिएको छ।
प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफमा नेपालले आक्रमक खेल खेलेर पनि गोल गर्न सकेन। खेलको अतिरिक्त समयमा नवयुग श्रेष्ठले प्रहार गरेको बल पोस्टमा ठोक्किएर फर्किएको थियो। अघिल्लो खेलमा केही फितलो देखिएको नेपालको डिफेन्स लाइन पनि रञ्जित धिमालको आगमनसँगै राम्रो देखिएको थियो।

यसअघि नेपाल पहिलो खेलमा घरेलु टोलीसँग २-० ले पराजित भएको थियो। अघिल्लो खेलमा जित निकालेको बंगलादेशले सिरिज जितेको छ।
कोरोना महामारी र लकडाउनको क्रममा लामो समय अभ्यासबिहीन बनेका फुटबल खेलाडीहरु एकहप्ताको छोटो अभ्यासपछि बंगलादेश गएका थिए। त्यसमा पनि केही पहिलो रोजाइकै खेलाडीहरुसमेत कोरोना र चोटका कारण टिममा नहुँदा पहिलो खेलमा केही नयाँ अनुहार पनि टिममा देखिएका थिए।

यो मैत्रीपूर्ण खेलले नेपाल र बंगलादेश दुबै देशका लागि फिफा विश्वकप छनोट अन्तर्गतका खेलका लागि सहयोग पुर्याउने छ। विश्वकप छनोटमा नेपाल समूह बी मा छ भने बंगलादेश समूह इ मा छ। कोभिडका कारण स्थगित विश्वकप छनोटका खेलहरु सन् २०२१ मा हुनेछ।
