PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

भोलिको सचिवालय बैठक स्थगित गरेर प्रचण्डसँग छलफल गर्न निकटस्थहरुको ओलीलाई सुझाव



पहिलोपोस्ट

भोलिको सचिवालय बैठक स्थगित गरेर प्रचण्डसँग छलफल गर्न निकटस्थहरुको ओलीलाई सुझाव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बुधवारको सचिवालय बैठकबारे रणनीति तयार गर्न व्यस्त छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। ओलीले मंगलवार महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप नेताहरुसँग बालुवाटारमा छलफल गरेका हुन्।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुई अध्यक्षबीच थप परामर्श गरेर मात्रै सचिवालय बैठक बस्न सुझाव दिएका छन्। उनले पार्टीको समस्या दुई अध्यक्षले छलफल गरेर टुंग्याउनु पर्ने र विगतको सहमति कार्यान्वयन गरेर जानुपर्ने सुझाव दिएको बताए।

‘यहाँहरुले भोलि सचिवालय बैठक राख्नुभएको छ। तयारी पुग्यो जस्तो लागेको छैन। यो स्थितिले समस्या जटिल बन्न सक्ला। बरु केही समय लिनुस्। भोलिको बैठक स्थगित गरेर, संवाद गरेर एउटा आधार तयार गरेर निष्कर्षमा पुग्नुस् भनेको छु,’ उनले भने।

नेम्वाङले सोही कुरा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खबर पठाएको बताए। छलफलमा ओलीले पार्टी एकताको पक्षमा भएको र एकता जोगाउने वचन दिएको नेम्वाङले सुनाए।

छलफलमा सहभागी अन्य नेताहरुले भोलीको सचिवालय बैठक सार्न सुझाएका छन्। तर, अध्यक्ष प्रचण्डसहितका नेताहरु बैठक सार्न तयार छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell