फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई हराएको छ। स्टेडियो नासिओनल डी लिमामा भएको खेलमा घरेलु टीमलाई अर्जेन्टिनाले २-० गोल अन्तरले हराएको हो।
अर्जेन्टिनाको जितमा निकोलस गोञ्जालेज र लौटरो मार्टिनेजले गोल गरे।
खेलको १७ औं मिनेटमा अर्जेन्टिनाले गोञ्जालेजको गोलमा अग्रता बनाएको थियो। त्यस्तै २८ औं मिनेटमा मार्टिनेजले अर्को गोल थप्दा पहिलो हाफमै अर्जेन्टिना २ गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै पक्षबाट गोल नहुँदा खेल २-० ले अर्जेन्टिनाले आफ्नो पक्षमा पार्यो।
जितसँगै ४ खेलबाट १० अंकजोड्दै अर्जेन्टिना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उता एउटा बराबरी र तीनवटा खेलमा पराजय भोगेको पेरु भने १ अंकसहित ९ औं स्थानमा छ।
