जनकपुरधामः महोत्तरीको बर्दिबासमा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार अर्का व्यक्ति सामान्य घाइते भएका छन्। ना ७ ख ३५२१ नम्बरको तेल टयाङकर पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग ९ प ५३२१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार बिहान स्थानीय भावना पेट्रोल पम्पमा तेल हालेर पोखरा तर्फ जाँदै गर्दा सिन्धुली रोडमा एक्कासि ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजुभाइ मध्ये मोटरसाइकलको पछाडी बसेका सिन्धुली तिन पाटन गाउँपालिका १० बस्ने २६ वर्षिय आशालाल परियारको मृत्यु भएको हो।
परियारलाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए। तेल टयाङकर र चालक प्रहरी नियन्त्रणमा रहेको उपरीक्षक चापागाईँले बताए। शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ।
