काठमाडौं : विवाद चरमोत्कर्षमा पुगेको बेलामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेको बैठक अन्तत: बालुवाटारमा नै बसेको हो।
२ बजे मन्त्रिपरिषद बैठक तय भइसकेपछि सचिवालय बैठक १ बजेलाई डाकिएको हो। पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड पौने १ बजे नै बालुवाटार छिरिसकेका थिए। प्रचण्ड र ओलीबीच पत्रमार्फत् एकअर्काको आलोचना भएपछि नेकपाको एकतामाथि नै प्रश्न उठेको थियो। शीर्ष दुई अध्यक्षबीच तनावपूर्ण स्थिति हुँदा त्यसको असर कार्यकर्तास्तरसम्मै झरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूतको समेत सक्रियतापछि नेकपा सचिवालय बैठक तय भयो। प्रधानमन्त्री ओलीले बैठक नचाहिरहेकै अवस्थामा प्रचण्ड पक्षधर सचिवालय सदस्यहरुले कुनै पनि हालतमा बैठक गरिछाड्ने बताएका थिए। यसअघि अनौपचारिक रुपमा डाकिएको सचिवालय बैठकलाई ओली र उनका पक्षका सदस्यहरुले बहिस्कार गर्दै आएका छन्। त्यसैले आजको सचिवालय ओली गुटको अनुपस्थितिमै भए पनि औपचारिक रुपमा संचालन गर्ने तयारी भएको थियो।
तनावकै बीच चिनियाँ राजदूत र राष्ट्रपतिको सक्रियतापछि भने दुवै अध्यक्ष सचिवालय बैठकका लागि तयार भएका थिए। बैठकमा के हुन्छ सबैको चासोको विषय बनेको छ।
