काठमाडौंः १६ वर्षअघि काठमाडौंको जडीबुटीमा भएको लुटपाट घटनामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोमवार मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ बाट नागसोतिबाट ३९ वर्षीय जगन्नाथ ढकाललाई नियन्त्रणमा लिएको हो। २०६४ भदौ ६ गते काठमाडौं जिल्ला अदालतले ढकाललाई ६ वर्ष कैद र १ लाख ९६ हजार रुपैयाँको फैसला सुनाएको थियो। तर, उनी फरार थिए।
२०६१ असोज ७ गते नारायण खनाललाई बनेपाबाट मिटिङबाट बा.१६ प. ६८२१ नम्बरको मोटरसाइकलमा फर्कँदै गरेको अवस्थामा लुटपाट गरेका थिए। पाँच जनाको समूहले सुरक्षाकर्मी हौं भन्दै मोटरसाइकल रोकी खनाललाई बोल्न नदिई मुखमा टेप लगाएर भ्यानमा राखी एकान्तमा लगेर लुटेको प्रहरीले जानकारी दिएको छ। उनको साथमा भएको १० लाख २५ हजार रुपैयाँ लुटेको खुलेको थियो।
घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा जगननाथ ढकाल सहित ११ जना व्यक्तिहरुको संलग्नता खुलेको छ।
