PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रचण्डको 'लाञ्छनापत्र'को प्रत्युतर दिन ओलीले मागे समय, महासचिव पौडेलले उठाए सचिवालयको औचित्यमा प्रश्न



कुञ्जरमणि भट्टराई

प्रचण्डको 'लाञ्छनापत्र'को प्रत्युतर दिन ओलीले मागे समय, महासचिव पौडेलले उठाए सचिवालयको औचित्यमा प्रश्न

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको पत्रलाई 'लाञ्छना पत्र' भन्दै त्यसलाई स्वीकारेर बस्न नसक्ने बताएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्रीले दाहालको लाञ्छनापत्रलाई बुँदागत रुपमा जवाफ दिन चाहेको बताए। 'म बुदागत जवाफ दिन्छु, समय चाहिन्छ,' प्रधानमन्त्री ओलीले बैठकमा भने।

यता पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सचिवालयको औचित्यमाथि नै प्रश्न गरेका थिए। बैठकमा महाचसिवले सचिवालय समस्या समाधान गर्न असमर्थ र समस्या सिर्जना गर्ने थलो हो भन् त्यसको प्रयोजन सकिएको बताएका थिए।

'यदि नेकपाको सचिवालय समस्याको समाधान गर्न असमर्थ हो र समस्या सिर्जना गर्ने थलो हो भने यसको प्रयोजन सकियो,' महासचिव पौडेलले भने, 'अहिलेको आवश्यकता अनुसार आन्दोलनलाई नेतृत्व गर्न नसक्ने भयौं। तसर्थ सचिवालय सदस्यबाट सामूहिक राजीनामा दिएर स्थायी कमिटीका सदस्यहरुलाई पार्टी नेतृत्व सुम्पौं।' साथै उनले यही अवस्था हो भने कम्युनिष्ट आन्दोलनको मलामी हुन पनि तयार हुनुपर्ने बताएका थिए।

यससँगै दश दिनमा फेरि बस्ने 'भाका' राख्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। हुने या नहुने भन्ने दुईथरी मत बाझिँदा आज लामो समयपछि पार्टीको शीर्ष तहको बैठक बसेको हो।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक नै नचाहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल बैठक नगरी नछाड्ने मनस्थितिका बीच मध्यमार्ग खोजिएको छ। बैठक पनि हुने र त्यसमा बृहत छलफल पनि नहुने सुत्र बालुवाटारमा लागू भएको हो।

नेकपामा जारी झगडा अब कम्तिमा १० दिनका लागि केही मत्थर हुने देखिन्छ।

'अर्को सचिवालय बैठक मंसिर १३ गते बस्नेछ,' बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'संकट निवारण सम्बन्धी अर्को प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले त्यसै दिन पेश गर्नुहुनेछ।' श्रेष्ठले संकट निवारण सम्बन्धी प्रस्ताव भने पनि त्यो प्रचण्डको दस्तावेजलाई काउन्टर दिनका लागि तयार पारिने प्रत्युत्तर पत्र हुनेछ।

यसअघि अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रस्तावले नेकपामा तरङ्ग ल्याएको थियो। बहुमत सचिवालय सदस्यले प्रतिवेदन संयुक्त रुपमा तयार पारेका थिए।

आजको बैठकले पार्टी स्थायी कमिटी बैठक १८ गते बस्ने निर्णय पनि गरेको छ। त्यसैगरी १५ गते बस्ने भनिएको पार्टी केन्द्रीय कमिटी बैठक २५ गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सत्तारुढ दलभित्रको किचलो समाधानका लागि चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता रहेको थियो। राजदूत र राष्ट्रपतिले पालैपालो नेतृत्वसँग बेग्लाबेग्लै छलफल गरेका थिए। हिजो प्रचण्डसँग राष्ट्रपतिले छलफल गरेकी थिइन् भने आज बिहान प्रधानमन्त्री ओलीसँग। नेकपाको शीर्ष तहको तनावले पार्टीको कार्यकर्ता तहसम्म प्रभाव पारेको छ। यद्यपि, पार्टी प्रवक्ता श्रेष्ठले राजदूतको सक्रियता पार्टीको वर्तमान समस्यासँग सम्बन्धित नभएको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell