काठमाडौं : पछिल्लो एक सातामा १० हजार ५८८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। गत बिहीवार देखि आज बुधवार सम्मको तथ्यांक अनुसार सात दिनमा ३९ हजार ४३७ नमुना परीक्षण गरिएकोमा २६.८५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यो साताको संक्रमणदर ३.७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यो साता २० हजार ५३७ संक्रमित संक्रमणमुक्त भएका छन् भने ८५ जना संक्रमितको मृत्यु भएको छ। हाल नेपालमा २८ हजार ८७८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८.५ प्रतिशत संक्रमित मात्र संस्थागत आइसोलेसन तथा अस्पतालमा छन्। दुई हजार ४५७ जना संक्रमित मात्र संस्थागत आइसोलेसनमा रहँदा बाँकी ९१.५ प्रतिशत संक्रमित होम आइसोलेसनमै छन्।
२४ घण्टामा १४४२ जनामा संक्रमण पुष्टि
यसैबीच, पछिल्लो २४ घण्टामा एक हजार ४४२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ६ हजार ७३१ जनाको नमुना परीक्षण भएकोमा ३१.४ प्रतिशत पोजेटिभ पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पहिचान भएका संक्रमितमध्ये एक हजार ३८ जना काठमाडौं उपत्यकाका छन्। जुन ७२ प्रतिशत हो।
जसमध्ये ८२२ जना काठमाडौंमा पहिचान भएका छन्। भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
