PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रपतिको ‘तामोतुलसी’ मोह, कहिलेसम्म बन्छिन् गुटको रक्षाकवच?



पहिलोपोस्ट

राष्ट्रपतिको ‘तामोतुलसी’ मोह, कहिलेसम्म बन्छिन् गुटको रक्षाकवच?

काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको सुत्रपात नै शीतल निवासबाट गराएको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारी एकीकरणपछिका मुलभूत विवादमा मुछिँदै आएकी छन्। शीतल निवासलाई एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको मध्यस्थ भूमि बनाएकी भण्डारीले कतिपय अवस्थामा नेताबीच ‘तामोतुलसी’ गराउँदै आएकी छिन्। गुटको रक्षाकवच बनिरहेकी उनी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको पछिल्लो विवाद समाधानका लागि सक्रिय बनेकी छिन्। तर, योपटक भण्डारीको प्रयासलाई कार्यकारी अध्यक्ष प्रचण्डले लत्याएका छन्। बुधबारको सचिवालय बैठक रोक्न नमानेका प्रचण्डले प्रधानमन्त्रीसँग सम्वादका लागि केही समय बैठक स्थगन गर्न राष्ट्रपतिले दिएको सुझावलाई भने केही ‘स्पेस’ दिएका छन्।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला भण्डारीले सदैव आन्तरिक राजनीतिमा चासो राख्दै आएकी छन्। संवैधानिक रुपमा तटस्थ भूमिकामा रहनुपर्ने राष्ट्रपतिको राजनीतिक दौडधुपलाई अस्वभाविक मानिए पनि प्रतिक्रियामा राष्ट्रपतिको चासो देखिन्न। प्रधानमन्त्री निकट समूहको रक्षाकवचको रुपमा रहेको आरोप खेपिरहे पनि भण्डारीले आफ्नो भूमिका बदलेकी छैनन्। विवादमात्रै होइन, शीतल निवासले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेकपाभित्र आफ्नो ‘स्पेस’ खोजिरहेको समेत बताइन्छ। प्रदेश र संवैधानिक नियुक्तीदेखि मन्त्री कसलाई बनाउने भन्ने विषयमा समेत शीतल निवासले ‘इन्टर्फियर’ गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ।

एकपछि अर्कोगरि विवादमा चासो राख्दा राष्ट्रपतिमाथि प्रश्न गर्नेहरु पनि बढेका छन्। पार्टी र नागरिकस्तरमा पनि भण्डारीको भूमिकाबारे प्रश्न उठाइने गरेका छन्। 

अघिल्लो मंसिरदेखि उत्कर्षमा पुगेको नेकपा विवादमा अध्यक्ष ओली र प्रचण्डबीचमा भण्डारीले पटक–पटक समाधान खोजिदिएकी छिन्। तर, भण्डारीको सक्रियतामा बनेको सहमति पालना भने हुने गरेको छैन। तैपनि भण्डारीले गुटको रक्षाका लागि एकपछि अर्को सहमतिका लागि प्रयास गरिनै रहेकी छिन्।

अघिल्लो पटक स्थायी समितिले गरेको निर्णयविपरीत अध्यक्ष ओलीले सरकार र पार्टी सञ्चालन गरेको भन्दै अहिले पनि विवाद उत्कर्षमा छ। पछिल्लो विवाद बढ्दै जाँदा भण्डारीले प्रधानमन्त्री ओली र प्रचण्डलाई परामर्शका लागि शीतल निवास बोलाइन्। आइतबार ओलीसँग छलफल गरेकी उनले मंगलबार प्रचण्डसँग परामर्श गरेकी थिइन्। सचिवालय बैठक के होला भनेर अन्यौल छाएको बेला बुधबार बिहानै राष्ट्रपतिले ओलीलाई पुनः शितलनिवास बोलाएकी थिइन्।

प्रचण्डसँगको छलफलमा उनले एकपटक फेरि ओलीलाई सहयोग गर्न आग्रह गरेकी छन्। साथै, आफ्नै मध्यस्थतामा सामझदारी गराउन पनि आफू तयार रहेको संकेत प्रचण्डलाई गरेकी छन्।

‘अध्यक्षज्यूसँग राष्ट्रपतिले सहयोगको आग्रह गर्नुभएछ। विशेषतः अहिले सहमति कायम गर्न र सचिवालयबाट निकास खोज्न भन्नुभएछ। चुनावी सरकारको नेतृत्व र महाधिवेशनमा समेत सहयोग गराउने वचन पनि दिनुभएछ। तर, प्रचण्डले प्रस्ताव अस्वीकार गरेको जानकारी हामीलाई दिनुभएको छ’, दाहाल निकट एक नेताले भने।

भण्डारीले ओलीसँग समझदारी गरेमा प्रचण्डलाई आगामी महाधिवेशनबाट पार्टी अध्यक्षका लागि सहयोग हुने आश्वासन दिएकी छिन्। यस्तै, चुनावी सरकारको नेतृत्व गर्न र हाललाई ओलीलाई सहयोग गर्न पनि प्रचण्डलाई आग्रह गरेको स्रोत बताउँछ। जसका लागि भण्डारीले सहमतिको साक्षी आफू नै बस्न तयार रहेको पनि बताएकी छिन्। 

विवादको आरम्भमा भण्डारीले पार्टी एकता कायम राख्न दबाब दिन भन्दै नेकपाका दोस्रो तहका नेताहरुलाई समेत शीतल निवास बोलाएर भेटेकी थिइन्। भण्डारीले नेताहरुलाई बोलाएर एकता कायम राख्न सुझाव र दबाब दुबै दिएकी थिइन्।

भण्डारीले उपाध्यक्ष बामदेव गौतम लगतै सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी समिति सदस्य वर्षमान पुनलाई पनि बोलाएर विवादबारे चासो राखेकी थिइन्।

संकटको विषयान्तर

पार्टी एकतासँगै नेकपामा शक्ति बाँडफाँडको लडाइँ सुरु भएको थियो। अघिल्लो मंसिरमा विवाद वारपार गर्ने रणनीतिमा प्रचण्ड नेपाल पक्ष भए पनि राष्ट्रपतिकै हस्तक्षेप भएको थियो। विवाद लम्बिँदै जाँदा प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणमा गएपछि तत्काललाई संकट टरेको थियो।

तर, कोरोना कहरबीच ओलीले अन्य दल फुटाउने प्रयोजनका लागि भन्दै राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि विवाद पुनः उत्कर्षमा पुगेको थियो। संवैधानिक परिषद् अध्यादेशले विपक्षी चिडिएको मौकामा पार्टीभित्रकै स्थायी प्रतिपक्षले पनि ओलीलाई च्यापेको थियो। तर, उक्त विवादलाई ओलीले राष्ट्रपतिकै ‘तामोतुलसी’बाट टारेका थिए। तर, जब राष्ट्रियतासँग जोडेर ओलीले आफ्नै पार्टीका केही नेताहरुले विदेशी शक्तिको इशारामा आफूलाई कुर्सीबाट हटाउन खोजेको भन्दै अभिव्यक्ति दिए तब पार्टी विवाद झनै उत्कर्षमा पुगेको थियो।

स्थायी समिति बैठक जारी रहेकै बेला ओलीले दिएको अभिव्यक्तिले कार्यकारी अध्यक्ष प्रचण्डसहितले उनको राजीनामा नै मागेका थिए। विवाद सामाधानका लागि कार्यदल गठन भएपछि कार्यदलको सुझाव अनुसार राजनीतिक प्रतिवेदन स्थायी समितिमा पुगेको थियो। विवाद जारी रहँदा पनि राष्ट्रपति भण्डारीसँग स्थायी समिति सदस्यसँग अनौपचारिक परामर्श जारी नै राखेकी थिइन्। तर, शक्ति बाँडफाँडको विषयमा सहमति भएपछि सैद्धान्तिक आवरण दिइएको नेकपा विवाद सकिएको थियो।

पछिल्लो समय कर्णाली प्रदेशको विवाद, राजदूत सिफारिस तथा मन्त्रिपरिषद्मा सदस्य थपका विषयले किचलो बढिरहेको छ। कोरोना नियन्त्रण गर्ने प्रयास गर्दै नागरिकलाई संक्रमणबाट बचाउन छाडेर बालुवाटारबाट पार्टी विवादमा केन्द्रित भएको आरोप ओलीमाथि लाग्दै आएको छ। नेकपा विवाद कहिले र कतिसम्म जाने यकिन नभए पनि ओलीको सत्ता संकट जोगाउन राष्ट्रपतिदेखि छिमेकी राजदूतसम्म सक्रिय छन्। तर, राष्ट्रपतिको योपटकको प्रयास भने फिक्का भइरहेको छ। यसअघिका समझदारी पालना नहुँदा ओली स्वयम् समेत असहज अवस्थामा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell