PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रदेश १ मा अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि ‘हेल्लो विद्यार्थी कार्यक्रम’



फूलमाया पुरी

प्रदेश १ मा अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि ‘हेल्लो विद्यार्थी कार्यक्रम’

विराटनगर : प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ। कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो।

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थी र कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो। विद्यालय सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको सामाजिक विकास मन्त्रालय जनाएको छ।

पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए।

निर्देशक बुढाथोकीका अनुसार धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा सम्झौता भईसकेको छ। मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए।

नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सीयूजी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको हो।

विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सीयूजी सिममा १२९ रुपैयाँले १ महिना पुग्ने शिक्षा निर्देशक बुढाथोकीले बताए। विद्यार्थीका लागि सित्तैमा सिम दिइने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा व्यालेन्सको व्यवस्था गरिने छ।

नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताईएको छ। स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ।

रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने र विद्यार्थी छनौट गर्दा गरिब भित्रको पनि गरिब छनौटलाई गर्नुपर्ने शिक्षा निर्देशक बुढाथोकीको भनाइ छ।

‘विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोवाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ’, बुढाथोकीले भने, ‘अभिभावकको मोवाइल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभावकसँग पनि जानकारी लिन सकिनेछ।’

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। कोरोनाको संक्रमण कहिले सम्म भन्ने यकिन नभएकाले पठन पाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाई शुरु गर्ने तयारी गरेको उनको भनाइ छ।

‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैयाँ व्यहोर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell