
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा डेनमार्कलाई हराउँदै बेल्जियम अर्को चरणमा प्रवेश गरेको छ। किङ पावर स्टेडियनमा भएको खेलमा घरेलु टोली बेल्जियमले डेनमार्कलाई ४-२ ले हराएको हो।
बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा युरी टाइलेमन्स र केभिन डी ब्रुइनले समान १/१ गोल गरे। उता डेनमार्कका लागि जोनस ओल्डर विन्ड्सले एक गोल गर्दा अर्को गोल बेल्जियमकै नासेर चाडीले आत्मघाती गोल गरेका थिए।
बेल्जियमका लागि खेलको तेस्रो मिनेटमै टाइलेमन्सले अग्रता बनाएका थिए। तर १७ औं मिनेटमा विन्डले गोल फर्काउँदा पहिलो हाफ बराबरीमा रोकियो। दोस्रो हाफमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाए। उनले खेलको ५७ औं र ६९ मिनेटमा गोल गर्दै बेल्जियमलाई सुरक्षित अवस्थानमा पुर्याए। तर ८६ औं मिनेटमा चाडीले आत्मघाती गोल गरे। त्यसको अर्को मिनेटमै डी ब्रुइनले गोल गर्दै खेल ४-२ ले आफ्नो पक्षमा पारे।
त्यस्तै गएराति नै भएको समूह बी कै अर्को खेलमा इङ्ग्ल्याण्डले आइसल्याण्डलाई ४-० ले हरायो। इङ्ग्लयाण्डको जितमा फिल फोडेनले २ गोल गर्दा डिक्लन राइस र म्यासन माउन्टले समान १/१ गोल गरे। इङ्ग्ल्याण्डले जितसहित नेशन्स लिगमा आफ्नो यात्रा सुखद रुपमा टुंग्याएको छ। समूह बी बाट बेल्जियम अर्को चरणमा प्रवेश गरेको छ।