PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

धोनीको ‘रिप्लेसमेन्ट’का लागि आईपीएलले औँल्याएका पाँच दाबेदार : कसले पाउला जर्सी नम्बर ७?



पहिलोपोस्ट

धोनीको ‘रिप्लेसमेन्ट’का लागि आईपीएलले औँल्याएका पाँच दाबेदार : कसले पाउला जर्सी नम्बर ७?

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन्यास लिएपछि भारतीय क्रिकेट टिममा उनलाई प्रतिस्थापन गर्नसक्ने खेलाडीको खोजी भइरहेको छ। टेस्ट क्रिकेटमा ऋद्धिमान साहले धोनीको स्थानमा राम्रो गरिरहेका छन् यद्यपि अन्य फर्म्याटमा भने धोनीलाई प्रतिस्थान गर्नका लागि अन्य खेलाडी खरो रुपमा उत्रिनसकेका छैनन्।

आईपीएलको १३ औं संस्करण सकिएको धेरै भएको छैन। तर, यसपटक कोरोना संक्रमणका कारण दर्शकबिहीन स्टेडियामा खेलाइएको आईपीएलले धोनीलाई प्रतिस्थापन गर्नसक्ने सम्भावित खेलाडीहरु भने औँल्याएको छ। धोनीलाई उनको कप्तानी पारीलाई लिएर धेरैले सम्झन्छन्। सँगै उनी सफल ब्याट्सम्यान र विकेटकिपर पनि हुन्। त्यसैले धोनीको ‘रिप्लेस्मेन्ट’ का लागि खेलाडीहरुमा नेतृत्व क्षमतासँगै खेललाई जिताउन ब्याटिङ र विकेट किपिङको गुण खोजिँदैछ। जसमा लोकेश राहुल, सञ्जु सामसन, ऋषभ पन्त, इसान किसन लगायतका खेलाडीहरु छन्। त्यसो त आईपीएलमा थोरै भारतीय खेलाडीहरुले मात्र विकेट किपिङको मौका पाएका थिए। तर, ब्याटिङबाट भने यी खेलाडीहरुले टिममा आफ्नो महत्वलाई पुष्टि गरेका थिए।

यसकै आधारमा यी पाँच खेलाडीलाई विकेट किपिङ ब्याट्समेनको प्रतिस्पर्धीका रुपमा हेर्न थालिएको बताइन्छ। यीमध्ये चार खेलाडीले अस्ट्रेलिया टुरमा मौका पनि पाएका छन् भने एकजना अझै राष्ट्रिय टिममा डेब्युको मौका कुरिरहेका छन्।

यी पाँच दाबेदारमध्ये राहुल सबैभन्दा माथि छन् भने साह, सामसन, पन्त र किसनको दाबेदारी पनि बलियो छ।

इसान किसन बाहेक अन्य खेलाडीले भारतको अस्ट्रेलिया टुरमा पनि मौका पाएका छन्। जसमा सञ्जु सामसनलाई वान डे र टी-२०, लोकेस राहुललाई तीनै फर्म्याटमा र ऋद्धिमान साह र ऋषभ पन्तलाई टेस्टमा मौका मिलेको छ।

लोकेश राहुल

राहुलले अस्ट्रेलिया टुरका क्रममा तीन फर्म्याटमा स्थान पाएका छन्। उनले पछिल्ला केही म्याचहरुमा विकेटकिपर ब्याट्सम्यानको रुपमा भारतीय टिमबाट खेल्दै पनि आएका छन्। उनले अहिलेसम्म ३२ वान डे खेल्दै ४७.६५ को औसतमा १ हजार २३९ रन बनाएका छन्। जसमा ४ शतक र ७ अर्धशतक छन्। त्यस्तै टी-२० मा उनले ४२ खेल खेल्दै २ शतक र ११ अर्धशतकको सहयोगमा १ हजार ४६१ रन बनाएका छन्। त्यस्तै टेस्टमा ३४.५८ को औसतमा २ हजार ६ रन बनाएका छन्।

ऋद्धिमान साह

भारतीय टेस्ट टोलीको कुरा गर्ने हो भने उनी टिममा सुरक्षित छन्। यद्यपि, आईपीएलको प्रदर्शनलाई हेर्ने हो भने उनले सीमित ओभरका खेलमा पनि स्थान बनाउन सक्ने सम्भावना रहन्छ। साहले टेस्ट क्रिकेटमा ३ शतक र ५ अर्धशतको सहयोगमा ३७ म्याचमा १ हजार २३८ रन बनाएका छन्। त्यस्तै, विकेट किपरका रुपमा उनले ५२ क्याच र ११ स्टम्प गरेका छन्। यो बाहेक उनले ९ वान डे म्याचमा उनले १३.६६ को औसतमा ४१ रन बनाए भने विकेटपछि रहेर १७ क्याच र एउटा स्टम्प गरेका छन्।

ऋषभ पन्त

छनोटकर्ताहरुको नजरमा धोनी पछि पन्त विकेटकिपर ब्याट्सम्यानका रुपमा परेका थिए। तर, उनले पाएको अवसरलाई खासै सदुपयोग गर्न सकेनन्। उनले अस्ट्रेलिया र इङ्ग्ल्याण्डमा शतक जोडेर टेस्टमा आफ्नो स्थान त जोगाए तर त्यहाँ साह फ्रन्टलाइन किपर छन्। अहिलेको अस्ट्रेलिया टुरमा पन्तलाई टेस्टको विकेटकिपरको जिम्मेवारी दिइएको छ। यो सिजनमा दिल्ली क्यापिटल्सका लागि खेल्दै पन्तले १४ म्याचमा ३४३ रन बनाएका थिए।

पन्तले १३ टेस्टमा २ शतक र २ अर्धशतकको सहयोगमा ३८.७६ को औसतमा ८१४ रन बनाएका छन्। त्यहीँ विकेटको पछि रहँदै ८ क्याच र १ स्टम्प गरेका छन्।

वान डे क्रिकेटको कुरा गर्ने हो भने १६ म्याचमा पन्तले २६.७१ को औसतमा ३७४ रन बनाएका छन्। त्यस्तै, २८ टी-२० मा २०.५० को औसतमा ४१० रन बनाएका छन्। जसमा एक अर्धशतक र विकेटको पछि रहँदै ७ क्याच र २ स्टम्प गरेका छन्।

सञ्जु सामसन

सञ्जु सामसनले अस्ट्रेलियासँग हुने तीन टी-२० सिरिज र वान डे सिरिजका लागि स्थान पाएका छन्। राजस्थान रोयल्सका लागि खेलेको १४ खेलमा उनले २८.३४ को औसतमा ३ अर्धशतक समेत गरी ३७५ रन बनाए। र, विकेटको पछि रहँदै ३ क्याच र २ स्टम्प गरे।

भारतीय टिमबाट ४ टी-२० खेलेका उनले ३५ रन बनाएका छन् भने फस्टक्लास क्रिकेटमा ५५ खेलमा ३ हजार १६२ रन बनाएका छन्। जसमा १० शतक र १२ अर्धशतक रहेको छ।

इशान किसन

विकेटकिपर ब्याट्सम्यान इशान किसनले अहिलेसम्म भारतीय सिनियर टिमबाट खेलेका छैनन्। आईपीएलमा मुम्बई इन्डियन्सलाई पाँचपटक च्याम्पियन बनाउन उनको महत्वपूर्ण योगदान छ। आईपीएलको यो सिजनमा उनलाई विकेट किपिङको मौका त मिलेन तर उत्कृष्ट ब्याटिङ गर्दै सबैको ध्यान तान्न भने सफल रहे। उनले १४ म्याचका १३ पारीमा ५७.३३ को औसतमा ५१६ रन बनाए। यसमा ४ अर्धशतक रहेको छ।

झारखण्डबाट खेल्ने इशानले ७२ लिस्ट ए म्याचमा ३६.४६ को औसतमा २३३४ रन बनाएका छन्। यो बाहेक विकेटको पछि रहँदै ८० क्याच र ७ स्टम्प गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell