PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

अस्पताल र आइसोलेसन सेन्टर खाली घरघरमा कोभिड-१९ संक्रमित



विधुर ढकाल

अस्पताल र आइसोलेसन सेन्टर खाली घरघरमा कोभिड-१९ संक्रमित

काठमाडौं : हालसम्म नेपालमा दुई लाख १२ हजार ९१७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका मध्ये ५८.८ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन्। एक लाख ८२ हजार ७८० जना संक्रमित संक्रमण मुक्त भइसक्दा ०.६ प्रतिशत अर्थात् एक हजार २५९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधवार सम्मको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, हाल १३.६ प्रतिशत अर्थात २८ हजार ८७८ संक्रिय संक्रमित उपचारका क्रममा वा आइसोलेसनमा रहेको तथ्यांकमा उल्लेख छ।

हाल कुल सक्रिय संक्रमितमध्ये २६ हजार ४२१ जना संक्रमित होम आइसोलेसनमा छन्। जुन कुल सक्रिय संक्रमितको ९१.५ प्रतिशत हो।

संक्रमित मध्ये हाल ३२६ जना आईसीयूमा उपचाररत छन् भने ५४ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रदेशगत अवस्था

हाल सबैभन्दा सक्रिय संक्रमित वागमती प्रदेशमा छन्। यस प्रदेशमा एक लाख १५ हजार ७८५ जनामा संक्रमण पुष्टि भएकोमा ६२७ जनाको मृत्यु भइसको छ। त्यस्तै, प्रदेशका ९७ हजार १०४ जना संक्रमण मुक्त छन्। प्रदेशमा हाल १८ हजार ५४ जना सक्रिय संक्रमित छन्।  जुन नेपालमा रहेका कुल सक्रिय संक्रमितको ६२.५ प्रतिशत हो। वागमतीका सक्रिय संक्रमित मध्ये हाल १७ हजार ७९० जना घरमै छन्।

त्यस्तै, प्रदेश १ मा संक्रमण पुष्टि भएका १३ हजार ३९८ जना मध्ये तीन हजार ११० जना सक्रिय संक्रमित छन्। जसमध्ये तीन हजार ४३ जना होम आइसोलेसनमा छन्। प्रदेशमा १६४ जनाको मृत्यु भइसकेको छ।

प्रदेश ५ मा हाल तीन हजार १८६ जना सक्रिय संक्रमित छन्। २३ हजार ६६४ जनामा संक्रमण पुष्टि भएकोमा १७५ जनाको मृत्यु भइसकेको छ। त्यहाँ रहेका सक्रिय संक्रमित मध्ये एक हजार ८९६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै, गण्डकी प्रदेशमा एक हजार ८५७ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १२ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको गण्डकीमा ७५ जनाको मृत्यु हुनुका साथै ९ हजार ८१९ जना संक्रमण मुक्त भइसकेका छन्। गण्डकीमा हाल दुई हजार ६३८ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, प्रदेश २ मा हाल ६७८ जना सक्रिय संक्रमित छन्। १९ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ मा १७१ जनाको मृत्यु भइसकेको छ। त्यहाँ रहेका सक्रिय संक्रमित मध्ये ६५६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, सुदुरपश्चिम प्रदेशमा हाल ९८५ जना संक्रमित होम आइसोलेसनमा छन्। ११ हजार १६६ जनामा संक्रमण भएको त्यस प्रदेशमा ३२ जनाको मृत्यु हुनुका साथै हाल एक हजार २२ जना सक्रिय संक्रमित छन्।

सबैभन्दा कम प्रभावित कर्णालीमा हाल २०० मात्र सक्रिय संक्रमित छन्। जसमध्ये १९४ जना होम आइसोलेसनमै छन्। कर्णालीमा पाँच हजार ९५० जनामा संक्रमण पुष्टि भएकोमा १५ जनाको मृत्यु भइसकेको छ।

सक्रिय संक्रमितको जिल्लागत वितरण

कुल सक्रिय संक्रमित मध्ये ५४.३३ प्रतिशत सक्रिय संक्रमित काठमाडौं उपत्यकामा मात्र छन्। काठमाडौं जिल्लामा हाल १२ हजार ५२७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ललितपुर जिल्लामा दुई हजार ५६ र भक्तपुर जिल्लामा एक हजार ६२ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, एक हजार भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा कास्की (१४७८), मोरङ (१२६४), रुपन्देही (१०१४ ) रहेका छन्। त्यस्तै चितवन, सुनसरी,झापा, काभ्रे, कैलाली, दाङ, पाल्पामा पाँच सय बढी संक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell