PahiloPost

Dec 6, 2020 | २१ मंसिर २०७७

जीवा लामिछानेको ‘देश देशावर’ सार्वजनिक



पहिलोपोस्ट

जीवा लामिछानेको ‘देश देशावर’ सार्वजनिक

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्व अध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ।

अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक देश देशावरले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ। विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत् बिहीवार पुस्तक सार्वजनिक गरिएको हो।

लामिछानेले नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए। ‘यो अति सजिलो ढंगले लेखिएको छ। सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ।’

संसारमा नेपालीहरू कहाँकहाँ पुगेका छन्, उनीहरू कुन अवस्थामा कसरी बसेका छन्, त्यो थाहा पाउनमा लामिछानेको ठूलो चाख रहेको संग्रौलाले बताए।

‘कुनै देशको कुनाकानीमा नेपालीले सानो उद्यम गरेको छ भने त्यो देखेर उहाँ अत्यन्त प्रसन्न हुनुहुन्छ, हरेक नेपालीको प्रगतिलाई उहाँले आफ्नो र देशको प्रगति ठान्नुहुन्छ,’ उनले भने, ‘समय समयमा उहाँ कुनै नयाँ ठाउँमा जानुहुन्छ, त्यसबारे जानकारी टपक्क टिपेर सजिलो किसिमले लेखिदिनुहुन्छ।’

शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए। यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ । ‘संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो,’ उनले भने, ‘विकासप्रेमी एवम् राजनीतिज्ञहरूका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ ।’

किताबमा विभिन्न किसिमका युद्ध र द्वन्द्वका कारण ध्वस्त भएर पनि त्यहाँबाट माथि उठेर विकसित भएका अफ्रिकी देशहरूको कथा छ। साथै अन्य विभिन्न देशका संस्कृति एवम् रहनसहन, भूगोल आदि विषयमा पनि सरल र सरस किसिमले प्रस्तुत गर्नु यो कृतिको विशेषता रहेको न्यौपानेको भनाइ छ। यहाँका प्रत्येक नियात्रामा लेखकले आफ्नो देश सम्झेका छन् । ‘त्यसको लक्ष्य आफ्नो देशका नेताहरूलाई विकासको नमुना देखाउनु हो,’ न्यौपानेले भने ।

किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । ‘विश्व धेरै रङरूपले भरिपूर्ण छ। बहुआयामिक पनि छ,’ उनले भने, ‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ।’

एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहनेका लागि पु्स्तक उपयोगी हुनसक्ने लेखक लामिछानेले बताए।

‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लामिछानले भने, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ।’

यात्रा गर्ने र त्यसलाई लिपिबद्ध गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell