PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

सेयर किनबेचमा आज बन्यो ऐतिहासिक रेकर्ड, तिहारपछि कारोबारमा छलाङ



पहिलोपोस्ट

सेयर किनबेचमा आज बन्यो ऐतिहासिक रेकर्ड, तिहारपछि कारोबारमा छलाङ
फाइल फोटो।

काठमाडौं : अहिलेसम्मकै सर्वाधिक कारोबार भएको सेयर बजार ऐतिहासिक उच्चतम विन्दुभन्दा मात्र सय अंक तलसम्म उक्लिएर बन्द भएको छ।

तिहार बिदापछि खुलेको सेयर बजारले दुई दिनमा (बुधबार २३ अंकसहित) ६० अंकको छलाङ हानेको हो।

अहिलेसम्मको उच्चतम अंक १८८१ हो। आज बजार ३६ अंकले बढेर १७७८ अंकमाथि पुगेको छ।

सुरुवातबाटै बढेको बजारलाई ब्यापार, बीमा, अन्य, उत्पादन तथा प्रशोधन समूहले माथि लगेका हुन्। कोभिडका कारण व्यापार ठप्प भएर घाटाको ब्यालेन्स-सीट आउँदासमेत होटल समूहको सेयर मूल्य माथि गएको छ।

ब्रोकरहरुका अनुसार, बैंक ब्याज दरकै कारण सेयर बजार माथि गएको हो। सुरुवातमा बजार केही रातो भएको थियो। तर त्यो लामो समयसम्म रहेन। बैंकमा अत्याधिक तरलता रहेको र अझै चार/साढे चार खर्ब रुपैयाँ लगानी गर्दा पनि पर्याप्त तरलता भएर ब्याज घट्ने विश्लेषणहरु सार्वजनिक भइरहेका छन्।

ब्याज दर अझै घट्छ र तरलता अझै पनि सुधार हुन्छ भन्ने सूचनाहरु संप्रेषण भइरहेकाले सेयर मूल्य बढ्न बल पुगेको ब्रोकरहरु बताउँछन्।

दिनभरजस्तै रातो रहेको वाणिज्य बैंक समूह छोटो समयलाई हरियो देखिएको थियो। अन्तत: यो समूह पनि २.७१ अंक बढेर बन्द भएको छ। सञ्चालनमा रहेका २७ बैंकमध्ये २० वटाको वितरणयोग्य नाफा घटेको समाचार प्रकाशित भएकाले पनि बैंकिङ समूहका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण नदेखिएको हो।

बजारमा सर्वाधिक सेयर कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ। कम्पनीको ४१ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसपछि हिमालयन डिस्टिलरीको २७ करोड ७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड १२ लाख, नेशनल लाइफको १८ करोड ४३ लाख, नेपाल टेलिकम १७ करोड ३१ लाख, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख, शिवम् सिमेन्ट १६ करोड १८ लाख, एनआईसी एसिया १५ करोड ६० लाख, नागरिक लगानी कोष १३ करोड ७७ लाख र प्रभु बैंक १२ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

कुल कारोबार रकम ६ अर्ब ११ करोडमा यी १० कम्पनीको हिस्सा साढे ३३ प्रतिशत छ। 

पाँचवटामा बढेर सर्किट
बिहीवार पाँचवटा कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। तारागाउँ रिजेन्सी (ह्यात) होटल, युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई, हिमालयन डिस्टिलरी र विशाल बजार कम्पनी लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो।

ह्यात होटलले पछिल्लो दुई त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन। कोभिडका कारण होटल बन्दजस्तै छ। तैपनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३०८ रुपैयाँ पुगेको छ।

यसपछि युनिलिभरको सेयर मूल्य बढेको हो। युनिलिभरले बुधबार मात्रै नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसपालि लाभांस पनि निक्कै कम दिएको थियो। तैपनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४९ रुपैयाँले बढेर २० हजार ३४४ रुपैयाँ पुगेको छ।

हिमालयन डिस्टिलरी पछिल्लो समय निरन्तर बढिरहेको कम्पनी हो। कम्पनीले चालु वर्षको पहिलो त्रैमासमा ९२ प्रतिशतले नाफा बढाएको छ। कम्पनीको बुधबार पनि मूल्य १० प्रतिशतले बढेको थियो। आज पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९ सय २८ रुपैयाँ पुगेको छ। 

बोटलर्स नेपाल तराईको पनि मूल्य १० प्रतिशतले बढेर ९ हजार २९० रुपैयाँ पुगेको छ। कम्पनीको पनि नाफा घटेको छ। गत वर्षभरि कम्पनीले एक करोड नोक्सानी खाएको जनाएको थियो। अघिल्लो वर्षको असोजमा भने ३० करोड रहेको नाफा गत असोजमा घटेर २८ करोड ६० लाख रुपैयाँमा झरेको छ।

विशाल बजारको सेयरमा पनि  सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको पछिल्लो एक महिनामा मात्र १६ दिन कारोबार भएको छ। तैपनि कुनै उल्लेख्य कारणले भन्दा पनि आन्तरिक कारोबार भएकाले मूल्य बढेको ब्रोकरको भनाइ छ । कम्पनीको सेयर मूल्य ३०२ रुपैयाँले बढेर ३ हजार ३२९ रुपैयाँ पुगेको छ।

यस्तै, पछिल्लो एक वर्षमा कित्तामा ६ हजार रुपैयाँभन्दा धेरैले मूल्य वृद्धि भएको साल्ट ट्रेडिङ कम्पनी (एसटीसी) को सेयर मूल्य विहिबार पनि उचालिएको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता आज ६५५ रुपैयाँले बढेर ७ हजार २४२ रुपैयाँ पुगेको छ।

रेकर्डमाथि रेकर्ड
बिहीबार सर्वाधिक रकमको सेयर कारोबार भएर बजारले नयाँ रेकर्ड कायम गरेको छ। दिनभरीमा ६ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

यसमध्ये जलविद्युतको ६३ करोड ७५ लाख, होटल समूहको १५ करोड ६६ लाख, व्यापार समूहको २१ करोड ५४ लाख, माइक्रोफाइनान्स समूहको ५३ करोड ९० लाख र बैंकिङ समूहको १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

जीवन बीमाको ८२ करोड ५१ लाख, निर्जीवन बीमाको एक अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ। अन्य समूहको ८१ करोडको कारोबार भएको छ। बाँकी अरुको कारोबार भएको हो।

नेप्सेका अनुसार, निर्जीवन २० बीमा कम्पनीमध्ये १९ वटाको मूल्य बढेको छ।  जीवन बीमामा कारोबार भएका सातवटैको मूल्य बढेको छ। बैंकिङ समूहका भने कारोबार भएका २६ मध्ये १३ को मूल्य बढेको छ, बाँकी १३ को घटेको छ।

बिहीवार जीवन बीमा र निर्जीवन बीमा सूचक पनि सर्वाधिक माथि पुगेको अर्को रेकर्ड कायम भएको छ। आज बजार पूँजीकरण पनि अहिलेसम्मकै उच्च रहेको नेप्सेले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell