काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन्।
नेकपाको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या उत्पादन गर्ने थलोका रुपमा बदलिएको पौडेलको भनाई छ।
पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशावाेध गर्नका लागि नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताए।
उनले भने, ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ। त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु। यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृतवदायी भुमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ।’
महासचिव पौडेलले आफ्नो अभिभारा सहि ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्ने पनि बताए।
‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ। हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौँ। हाम्रो अभिभारा ठिक ढंगले पूरा गर्न नसक्ने भयौँ। त्यसैले तपाईहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस हामी पदमुक्त हुन्छौँ भन्ने परिस्थिति सिर्जना हुन्छ, पौडेलले भने।
बुधवारको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा राखेको बताए।
पार्टी आन्तरिक जीवनमा गम्भिर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताए।
‘सीमा बाहिर, मर्यादा बाहिरका तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिउन। पार्टी तथ्यको जडमा उभिएर सहि निष्कर्षका साथ अगाडि बढोस। त्यसका लागि अगाडि बढौँ भन्ने मेरो चाहाना हो त्यही अनुसार जिम्मेवारी पूरा गर्न चाहान्छु।’
