PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : पयर्टनमन्त्री भट्टराई



राधेश्याम पटेल

छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : पयर्टनमन्त्री भट्टराई

वीरगंज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिन्दूहरुको महान पर्व छठ मधेस, पहाड र हिमाललाई जोड्ने अटुट साझा पर्वको रुपमा विकसित हुँदै गएको बताएका छन्।

वीरगंजमा प्रदेश २ सरकार, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले आयोजना गरेको एक प्रदेश एक साँस्कृतिक पर्व अर्थात प्रदेश २ को मुख्य साँस्कृतिक पर्वको महत्व सम्बन्धित कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।

छठ पर्व पछिल्लो समय तराई मधेस सँगसँगै पहाडी र हिमाली विभिन्न जिल्लामा सामाजिक एक रुपताका साथ मनाउने भएकोले देशको सामाजिक एकताको बन्धनमा जोड्ने पर्वको रुपमा चिनिएको स्पष्ट पारे।

‘छठ अब मधेस तराईको मात्र पर्व रहेन, हिमाली जिल्ला ताप्लेजुगका शेर्पाहरुले समेत तमोर खोलाको किनारमा छठ पर्व मनाएको फेसबुकमा फोटो हेरेको छु,’ उनले भने।

घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा उनले छठ पर्व अन्धविश्वास र आध्यात्मिक पर्व नभएर यो विशुद्ध वैज्ञानिक पर्व समेत भएको धारणा राखे।

उनले भने, ‘छठ वैज्ञानिक पर्व हो, यसले प्रकृतिलाई पूजा आराधना गरी जीवनमा कष्ट नहोस् भनी पाठ सिकाउँछ। छठमा सूर्य, पानी, हावालगायत प्राकृतिक चिझको पूजापाठ गरी आराधना गरी एउटै विधिबाट मनाउने गरिन्छ।’

हिन्दूसहित गैरहिन्दू समुदायले समेत छठ पर्व मनाउने भएकोले यो पर्वको महत्व विशेष रहेको उनले विचार व्यक्त गरेका थिए।

छठको कार्यक्रम जस्तै अन्य क्षेत्रमा समेत केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार समन्वय गरेर मुलुक विकाससँगै धार्मिक पर्यटकीय स्थल, संस्कृति एवं देश विकास गर्नु पर्ने आवश्यकता रहेको बताए।

त्यसैगरी कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठ प्रदेश २ को मुख्य चाडपर्व भएको बताउँदै यसवर्ष सुरक्षित रहे अगामी वर्ष धुमधामले मनाउन सकिने बताए। पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले केन्द्रीय पर्यटन मन्त्रालयले तराई मधेसको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणको लागि बजेट नदिने गरेको आरोप लगाए। साथै, उनले केन्द्र सरकार प्रदेश सरकारको पर्यटकीय विकास नचाहेको आरोप समेत लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell