PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

कोरोना भाइरसविरुद्धको भ्याक्सिन आए कसले पाउला पहिलो डोज?



सहयोग रञ्जित

कोरोना भाइरसविरुद्धको भ्याक्सिन आए कसले पाउला पहिलो डोज?

करिब एक वर्ष भयो विश्वमा कोरोना संक्रमण देखिएको। सन् २०१९ को डिसेम्बरबाट कोरोना संक्रमण देखिएको बताइएपनि नोभेम्बरमा नै एक व्यक्तिमा संक्रमण देखिएको रिपोर्ट चिनियाँ मिडियाहरुले सार्वजनिक गरेका थिए।

२०१९ को अन्त्यतिर चीनको बुहानबाट फैलिएको भाइरसले २०२० मा विश्वभर कहर मच्चायो। जोन हप्किन्स विश्वविद्यालयको तथ्याकं अनुसार भाइरस उत्पत्ति भएको १ वर्ष पुग्दासम्म ५ करोड ६४ लाखभन्दा बढीमा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। विश्वभर १३ लाख भन्दा बढीको मृत्यु संक्रमणका कारण भइसकेको छ। सबैभन्दा बढी प्रभावित राष्ट्रको सूचीमा अमेरिका पहिलोस्थानमा छ भने भारत दोस्रो स्थानमा। नेपाल २ लाख १५ हजारभन्दा बढी संक्रमितसहित ३६ औं स्थानमा पुगेको छ।

भाइरसलाई नियन्त्रण गर्न विश्वका अधिकांश देश सुरुवाती अवस्थामा लकडाउनमा गए। करौडौं जनता महिनौंसम्म घर भित्रमा थुनिँदा पनि भाइरस फैलिने क्रम रोकिएन। त्यसपछि लकडाउनलाई खुकुलो वा हटाएर विभिन्न विकल्पका प्रयासहरु अपनाउने प्रयास भयो। ‍तर, कोरोना सजिलै नियन्त्रणमा आउने छाँट देखिएको छैन।

संक्रमण न्यून भएर लकडाउन अन्त्य गरेका युरोपियन राष्ट्रमा फेरि संक्रमण बढेको छ। जसले संक्रमण ‘जिरो’ भएपनि कोरोना हट्यो भनेर ढुक्क बस्न नहुने तर्फ सबैलाई सचेत गराएको छ।

विश्न नै कोरोना महामारीले ढाकेको बेला विश्व नै एउटा अद्भूत पर्खाइमा छ। त्यो हो - कोभिड १९ विरुद्धको भ्याक्सिन।

कहाँकहाँ बन्दैछ भ्याक्सिन?

भ्याक्सिन बनाउन धेरै देशहरुमा वैज्ञानिक र चिकित्सकहरु टोली खटिएका छन्। कोभिड-१९ विरुद्ध परीक्षण चरणमा रहेका केही भ्याक्सिनहरु प्रभावकारी समेत देखिएका छन्।

अमेरिकी भ्याक्सिन निर्माता कम्पनी ‘मोडर्ना’ले तयार गरेको भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको दाबी गरिएको छ। यो भ्याक्सिनको परीक्षण अमेरिकामा गरिएको थियो, जसमा ३० हजार मानिसहरु सहभागी थिए। जसमध्ये पनि आधालाई चार हप्ताको फरकमा दुई डोज खोप दिइएको थियो। र, बाँकीलाई नमुना खोप दिइएको थियो।

भ्याक्सिन परीक्षण गरिएका पहिलो ९५ जनाको नतिजाको आधारमा यो विश्लेषण आएको हो। जसमध्ये पाँच जनामा मात्रै कोभिड-१९ संक्रमण देखिएको थियो भने ९० जना नमुना भ्याक्सिन दिइएकामध्येका थिए। कम्पनीका अनुसार भ्याक्सिनले ९४.५ प्रतिशत सुरक्षा प्रदान गरेको देखिएको छ।

यस्तै, अक्सफोर्ड विश्वविद्यालयले तयार पारिरहेको भ्याक्सिनले पनि सकारात्मक नतिजा देखाएको बताइएको छ। परीक्षणको चरणमा रहेको अक्सफोर्ड भ्याक्सिन ६० देखि ७० उमेर समूहमा प्रभावकारी देखिएको प्रारम्भिक रिपोर्टहरुले देखाएको छ। ५६० जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षणमा उक्त नतिजा आएको हो। हाल ‘अक्फोर्ड एस्ट्राजेनेका’ भ्याक्सिनले कोभिड १९ संक्रमण हुन रोक्नसक्छ वा सक्दैन भनेर ट्रायल भइरहेको छ।

उक्त भ्याक्सिन यो वर्षको क्रिसमस अघि नै प्रयोग गर्न तयार हुने अनुमान अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर एन्ड्रिउ पोलार्डले बताएका छन्।

पोलार्डले अन्य भ्याक्सिनसँग आफूहरुले प्रतिस्पर्धा नगर्ने समेत बताएका छन्। कोरोना संक्रमण रोक्न एक भन्दा बढी भ्याक्सिन चाहिने भन्दै उनले विश्वभरका जनतालाई बचाउन सबै भ्याक्सिन चाहिने बताएका छन्।

यस्तै, रसियाले उत्पादन गर्दै गरेको ‘स्पुटनिक भी’ भ्याक्सिनले समेत परीक्षण चरणमा सकारात्मक नतिजा देखाएको छ। क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेको उक्त भ्याक्सिनका निर्माता कम्पनीले परीक्षणमा उक्त भ्याक्सिनले कोरोना संक्रमण रोक्न सक्ने देखिएको दाबी गरेका छन्। गमलेया नेशनल सेन्टर अफ इपिडिमिओलोजी, मस्कोको माइक्रोबायोलोजी एन्ड रसियन डाइरेक्ट इन्भेसमेन्ट फन्डले ट्रायलमा सहभागी भएकाहरु मध्ये २० जना कोभिड संक्रमणका केसहरुमा अनुसन्धान गरेपछि ‘स्पुटनिक भी’ ७२ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।

विश्वमा नै कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिनको रुपमा दाबी गर्दै रसियले ‘स्पुटनिक भी’ घोषणा गरेको थियो। तर यो भ्याक्सिनको क्लिनिकल ट्रायल लगायतका परीक्षणमा अन्य राष्ट्रहरुले सवाल उठाएपछि विवादित बनेको थियो। अहिले पनि उक्त भ्याक्सिनको ट्रायलमा धेरै कम संख्या मानिसहरु सहभागी भएको कारण त्यसको प्रभावकारिता विश्वसनीय हुन नसक्ने सरोकारवालाहरुले बताएका छन्।

यता, अमेरिकी कम्पनी ‘फिजर’ले पनि आफूले तयार पारिरहेको भ्याक्सिनले परीक्षण चरणमा प्रभावकारी हुने नतिजा देखाएको जनाएको छ। जर्मन ड्रगमेकर ‘बायोएन टेक’ सँग मिलेर फिजरले कोरोना भाइरसविरुद्ध निर्माण गरिरहेको भ्याक्सिनले कोरोना संक्रमण रोक्न सक्ने आधारहरु देखिएको दाबी गरेको हो।

कोरोना संक्रमण नदेखिएकाहरुमा गरिएको परीक्षणमा उक्त भ्याक्सिनले संक्रमणविरुद्ध इम्युनिटी विकास गर्न ९० प्रतिशत प्रभावकारी देखिएको जनाएको छ। फिजरले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनसँग यो महिनाको अन्त्यसम्म उक्त भ्याक्सिनको प्रयोगको लागि ‘एमर्जेन्सी अथोराइजेसन’ माग्ने भएको छ। उक्त कम्पनीले यो वर्षको अन्त्यसम्म करिब २० करोड भ्याक्सिन बनाउने लक्ष्य लिएको छ।

कोरोनासँग जुध्न भारतले भ्याक्सिन निर्माणमा काम गरिरहेको जनाएको छ। हाल भारतमा पाँचवटा भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको छ।

ती मध्ये तीनवटाको ट्रयाल अन्तिम चरणमा रहेको छ। बेलायतको अक्सफोर्ड एस्ट्राजेनेका, रसियाको स्पुटनिक भि सहित भारतमै उत्पादन भइरहेको ‘बायोटेक कोभासिन’ भारतमा तेस्रो चरणको ट्रायलमा रहेको छ। अर्को दुई भ्याक्सिन ‘क्याडिला’ दोस्रो चरणको ट्रायलमा रहेको छ भने ‘बायोलोजिकल इ’ ले पहिलो चरण पार गरेको बताइन्छ। ड्रग कन्ट्रोलर जेनरल अफ इन्डियाले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा भारत बायोटेक इन्टरनेश्नलले तयार गरिरहेको ‘बायोटेक कोभासिन’ र जाइडास क्याडिला हेल्थकेयरले उत्पादन गरिरहेको भ्याक्सिनलाई ‘ह्युमन क्लिनिकल ट्रायल’ को अनुमित दिइसकेको छ। बायोटेक कोभासिनको ट्रायलमा करिब २६ हजार व्यक्ति सहभागी हुने बताइएको छ।

भाइरस उत्पत्ति स्थल चीन पनि कोरोना विरुद्ध भ्याक्सिन बनाउने प्रयासमा छ। ट्रायलमा नै रहेको ‘सिनोभाक बायोटेक’ भ्याक्सिनले कोभिड १९ विरुद्ध छिट्टो ‘इम्युनिटी’ विकास गरेको दाबी गरिएको छ। यो भ्याक्सिनसँगै चारवाट भ्याक्सिन फाइनल क्लिनिकल ट्रायलमा रहेको छ।

चीनले तयार गरेको भ्याक्सिन हाल ब्राजिल, इन्डोनेसिया, टर्की लगायतका केही देशमा परीक्षण समेत भइरहेको छ।

 

कसले लगाउँला त भ्याक्सिनको पहिलो डोज?

विश्वका धेरै क्षेत्रमा कोराना भाइरसविरुद्ध भ्याक्सिन उत्पादनमा देखिएको प्रभावकारी नतिजाले सन् २०२० को अन्त्य वा २०२१ को सुरुवातसम्ममा भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेमा धेरैले विश्वास गरेका छन्। जसकारण भ्याक्सिनको आयातका लागि प्राय: सबै देशबीच प्रतिस्पर्धा हुनसक्ने सम्भावना रहेको छ। बेलायतले अक्सफोर्डको ट्रायलमा रहेको भ्याक्सिन ‘अर्डर’ समेत गरिसकेको छ। भारतले पनि ठूलो मात्रामा भ्याक्सिन अर्डर गर्ने तयारी गरिरहेको छ।

यसबीच भ्याक्सिन सबैभन्दा पहिला कसले लगाउलान् भन्ने विषय हाल चर्चामा रहेको छ।

कोरोनाविरुद्ध ‘इम्युनिटी’ विकास गर्ने भ्याक्सिन प्रमाणित भएर बजारमा आए पहिला कसलाई लगाउने भन्ने विषयमा हालसम्म कुनै निर्णय भइसकेको छैन।

अमेरिकी विज्ञहरुले भने भ्याक्सिनको पहिलो डोज स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने मत राखेका छन्। फिजरका वरिष्ठ उपाध्यक्ष बिल ग्रुबरले भ्याक्सिनको पहिलो डोज पहिलो चरणमा स्वास्थ्यकर्मी र दीर्घ रोगीहरुलाई दिने सक्ने बताएका छन्।

भ्याक्सिन सम्बन्धि नै काम गरिरहेको सर्जो फाउन्डेसनकी सेमा सगएरले पनि अमेरिका साथै अन्यदेशका विज्ञहरुले फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिन दिनुपर्ने धारणा राखेको बताएकी छिन्।

अमेरिकामा कोरोना भ्याक्सिनका लागि बनाइएको विज्ञ समूहहरुले ‘युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ (सिडिसि) लाई भ्याक्सिन प्रमाणित भएपछि अत्यावश्यक सेवामा खटिरहेका व्यक्तिहरु, सिकिस्त बिरामी र ६५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई प्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।

फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले भ्याक्सिनलाई ‘ग्रीन लाइट’ देखाउने बित्तिकै विज्ञ समूहले क्लिनिकल ट्रायलको तथ्यांक, भ्याक्सिनको साइड इफेक्ट, त्यसबाट विभिन्न उमेर समूहमा पारेको प्रभाव र उनीहरुको स्वास्थ्य अवस्थाको मूल्यांकन गरेर सिडिसिलाई भ्याक्सिनको प्राथमिकताबारे थप सुझाव दिनेछ।

अमेरिकी अधिकारीहरुका अनुसार पहिलो चरणमा सबैलाई बचाउने गरी भ्याक्सिन उपलब्ध हुने सम्भावना छैन। त्यसैले आवश्यक व्यक्तिहरुलाई भ्याक्सिनको पहिलो डोज दिने कार्य भए त्यसबाट महामारी संक्रमणको ग्राफ नै बदल्न सक्ने उनीहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell