PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपामा पुस्तान्तरण : ओलीको तुरुप कि नेतृत्वको सुझबुझपूर्ण निर्णय?



कुञ्जरमणि भट्टराई

नेकपामा पुस्तान्तरण : ओलीको तुरुप कि नेतृत्वको सुझबुझपूर्ण निर्णय?
फाइल फोटो

काठमाडौं : नेपालका राजनीतिक दलमा बेला-बेलामा नेतृत्व अर्को पुस्तालाई हस्तान्तरणको बहस हुनु सामान्य हो भलै त्यो व्यवहारमा लागू हुन कठिन छ। पार्टीमा पुस्तान्तरको विषय अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘हट केक’ बनेको छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व नयाँलाई दिनुपर्ने विषय उठान गरेर गर्मिएको राजनीतिमा ‘पासा’ फ्याँकेका छन्। के उनी पुस्ता हस्तान्तरण गर्न चाहन्छन् कि आफ्नो बचाउ गर्नमात्र?

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सदस्यले सचिवालयको बैठक माग गर्दै बुझाएको पत्रको जवाफी पत्रमा ओलीले नयाँ पुस्तालाई मौका दिनुपर्ने बताएका छन्। उनले पत्रमा औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पिएर पार्टी, आन्दोलन, देश र जनतालाई गुन लगाऔं भन्ने प्रस्ताव राखेका छन्।

'क्रियाशील र क्षमतावान नयाँ पुस्ताले 'म त्यो पदमा बसेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्छु’ भन्ने मौकै नपाउने, बुढाहरु यसरी लड्ने कि नेतृत्वको दोस्रो पक्तिले समेत 'भो खानोस्' भनेर झगडा मिलाउनमै हरदम व्यस्त हुनुपर्ने यस्तो षडन्त्रपूर्ण खेलको अध्याय यहीं अन्त्य गरौं र आआफ्ना काममा जुटौं। आँट गरौं, अब आउने औपचारिक फोरमबाट 'नयाँलाई जिम्मेवारी सुम्पिएर पार्टी, आन्दोलन, देश र जनतालाई गुन लगाऔं,’ ओलीले भनेका छन्।

उनले पार्टीलाई गतिशीलता दिनुपर्ने बताउँदै सकीनसकी आजीवन नेतृत्वमा टासिइरहनु नुहुने पनि उल्लेख गरेका छन्।

'आजीवन नेतृत्वमा टाँसिइरहने प्रवृत्तिले आन्दोलनमा नयाँ उर्जा, नेतृत्व र विचारलाई बन्ध्याकरण गर्छ भन्ने मान्यतामा म स्पष्ट छु। त्यसैले मेरो प्रस्ताव छ, अब प्रक्रियासम्मत ढंगले सहमतिका साथ अरु साथीहरुलाई जिम्मेवारी सुम्पिऔं,’ उनले प्रस्ताव राखेका छन्।

ओलीको विरोधाभासपूर्ण बोली

ओलीले केही समयअघि एपी वान टेलिभिजनमा दिएको अन्तरवार्तामा पनि नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताएका थिए।

'अब नयाँ पुस्ताका लागि जिम्मा लगाउन हामी किन तयार छैनौं? हामी आफैँ मैलाई चाहियो, भाग पुगेन, मान पुगेन किन गछौँ? एउटा सहमति गरेर नयाँ पुस्तालाई दिऔँ। हामी ७० को आसपासको हाराहारीमा रहेकाले नै सधैँ ओगट्नु पर्दैन,’ ओलीले भनेका थिए।

पार्टीमा दुवै पद नछाड्ने अडान राख्दै आएका ओलीले पुस्ता हस्तान्तरण गरिहाल्लान भन्ने विषय पत्याउन सजिलो भने छैन। ओलीले उक्त अन्तरवार्ता लगत्तै आफू 'तन्नेरी' हुँदै गएको सन्देश पनि दिएका थिए। पार्टी विवाबारे वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तसँग भेटमा ओलीले आफ्ना जुँगा झनै कालो हुँदै गएको भन्दै आफू झन तन्नेरी भएको सन्देश दिएका थिए।

उता, ओलीले संखुवासभा जुँगा फुलेको व्यक्ति अध्यक्ष रहेकाले पार्टी नफुट्ने आश्वस्त पार्न खोजे। उनले पार्टीमा जुँगाको रेखी बस्दादेखि संघर्ष गर्दै आएको र अहिले जुँगा फुलिसकेकाले आफूमाथि भरोसा गर्न जनतालाई अपिल गरे। यी कुराहरुले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा विरोधाभासपूर्ण देखिन्छ।

त्यसो त पार्टीको आगामी अधिवेशनमा ओलीलाई नै पुन: अध्यक्षको उम्मेद्वार बनाउन पछि नहट्ने उनी पक्षका नेताहरु बताउँदै आएका छन्।

'पार्टीको महाधिवेशनमा के परिस्थिति बन्छ। उहाँले आगामी महाधिवेशनमा उठ्दिन भनेर घोषणा त गरिसक्नु भएकै छ नि। सहमतिको महाधिवेशन भएन भने काँध थाप्न तयार छौं,’ ओली निकट नेता भन्छन्।

ओलीको बोलीको छैन विश्वास

ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विषय गम्भीरताका साथ नभइ फण्डाका लागि बहसमा ल्याएको उनकै पार्टीका नेताहरु नै बताउँछन्। नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त प्रधानमन्त्रीको अभिव्यक्ति गर्नका लागि नभइ पार्टीमा उत्पन्न समस्या टार्नका लागि आएको बताउँछन्।

'यो समस्या टार्नका लागि आएको हो। गर्नका लागि आएको कुरा नै होइन,’ पन्तले भने।

त्यस्तै, नेतृ रामकुमारी झाँक्री विषय मोड्नका लागि प्रधानमन्त्रीले नेतृत्व हस्तान्तरणको कुरा गरेको बताउँछिन्। शक्तिको अध्याधिक केन्द्रीकरण गर्ने नेतृत्वले पुस्ता हस्तान्तरण गर्छ भन्ने विश्वास छैन, उनलाई।

'प्रधानमन्त्री तथा अध्यक्षले विषय डाइभर्ट गर्नका लागि यो विषय भन्नु भएको हो। अर्को पुस्तालाई नेतृत्व दिने भनेको कुरा उधारो हो। तत्काल हुन नसक्ने कुरा पनि हो। हामी त्यति सजिलै पत्याउन मूर्ख पनि छैनौं। नेतृत्व हस्तान्तरण गर्ने नै हो भने स्वभाविक प्रक्रियामा जानु पर्‍यो। प्रक्रियामा नै जाने हो भने त २०७६ असारमा पार्टीको महाधिवेशन गरिसक्नुपर्थ्यो,’ झाँक्रीले भनिन्, 'महाधिवेशन, बैठक, भेला नगर्ने अनि नेताहरुको कार्यविभाजन नगर्ने एकै खालका मानिसलाई भूमिका दिइरहने, कोही मानिस सडकमा जिम्मेवारीबिहीन अवस्थामा अहिलेको नेतृत्वले राखिरहेको छ। यसरी शक्तिको अध्याधिक केन्द्रीकरण गर्ने नेतृत्वले पुस्ता हस्तान्तरण गर्छ भन्ने विपरीत कुरा हो।'

राजनीतिक विश्लेषकहरु पनि ओलीले पद नछोड्ने तर विवादको विषयान्तरका लागि बेला-बेलामा यस्ता कुरा प्रयोग गर्ने बताउँछन्।

ओलीको बोलीमा महासचिवको 'लोली'

ओलीको बोलीमा उनी निकट नेताहरुले साथ दिएका छन्। बुधवारको सचिवालय बैठकमा पार्टीका महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुले सामूहिक राजीनामा दिएर स्थायी कमिटी सदस्यहरुलाई नेतृत्व सुम्पने प्रस्ताव अघि सारेका छन्। उनले सचिवालय सदस्यहरु अहिलेको आवश्यकताअनुसार आन्दोलनलाई नेतृत्व गर्न नसक्ने पनि बताएका थिए।

'यदि नेकपाको सचिवालय समस्याको समाधान गर्न असमर्थ हो र समस्या सिर्जना गर्ने थलो हो भने यसको प्रयोजन सकियो। अहिलेको आवश्यकताअनुसार आन्दोलनलाई नेतृत्व गर्न नसक्ने भयौं,’ पौडेलले भने, 'तसर्थ सचिवालय सदस्यबाट सामुहिक राजीनामा दिएर स्थायी कमिटीका सदस्यहरुलाई पार्टी नेतृत्व सुम्पौं। यही अवस्था हो भने कम्युनिष्ट आन्दोलनको मलामी हुन पनि तयार होऔं।'

उता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले सचिवालयका ‍नेताहरु गम्भीर नबने महासचिवको प्रस्तावले लखेट्न सुरु गर्ने बताएका छन्। पोखरेलले बुधवार समाजिक सञ्जालमार्फत् सो कुरा बताएका हुन्। महासचिवले सचिवालय बैठकमा उठाएको विषयले छुट्टै बहस सिर्जना गर्ने उनी निकटहरुको भनाइ छ। तर, केही नेताहरु भने महासचिवले राखेको प्रस्तावलाई ओलीको बोलीमा लोली मिलाएको बताउँछन्।

दोस्रो पुस्ता नै छैन तयार

नेकपाका ९ सचिवालय सदस्यहरु सबै नै ६० वर्ष माथिका छन्। अहिलेको पुस्ताले नेतृत्व हस्तान्तरण गरे पनि सम्हाल्ने व्यक्तिहरुको अभाव भएको नेताहरु नै स्वीकार गर्दै आएका छन्।

नेकपामा विशेषगरी अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालका गुट छन्। तर, ती नेताहरुको उत्तराधिकारी कसलाई मान्ने भन्नेमा नै प्रश्न छ। झाँक्री पनि नेतृत्वका लागि दोस्रो पुस्ता तयार नभएको मत राख्छिन्।

'शक्ति हस्तान्तरण शान्तिपूर्ण ढंगले हुँदैन् भने बलपूर्वक हुन्छ। त्यसका लागि दोस्रो पुस्ता तयारी अवस्थामा रहेर वातावरण पनि त बनाउनुपर्‍यो नि,’ झाँक्रीले भनिन्, 'हस्तान्तरित नेतृत्व कसले लिने, त्यसको चुनौती स्वीकार गर्न तयार त हुनुपर्‍यो। पार्टीभित्र असामान्य अवस्था बन्दा खोइ त उहाँहरुको भूमिका? दोस्रो पुस्ता सुतेर बसेको छ।'

नेतृत्व लिनुपर्ने दोस्रो पुस्ता पहिलो पुस्तासँग पदका लागि सम्झौता गरेर पनि अभाव भएको नेताहरु नै बताउँछन्। नेतृत्वसँग सम्झौता भएपछि चुप रहेन प्रवृत्तिले पनि समस्या उत्पन्न भएको नेकपा एक नेताले बताए।

'दोस्रो पुस्ता सानोतिनो स्वार्थका लागि सम्झौता गर्दै अल्झिएको छ। सम्झौता गरेर फाइदा हुँदा र पदमा रहँदा चुपचाप रहने। कुनै कुरा प्राप्त गर्न सम्झौता गर्ने नपाएपछि बिरोध गरेर मात्रै हुन्छ? अहिले प्राय जसो दोस्रो पुस्ताका नेताहरुमा यस्तो प्रवृत्ति देखिन्छ। अनि, यस्तो तरिकाले वैकल्पिक नेतृत्व कसरी तयार हुन्छ?,’ ती नेताले प्रश्न गरे।

तर, राजनीतिक विश्लेषक हरि रोका अवसर पाएपछि दोस्रो पुस्ता जन्माउन सिस्टम बनाएर अवसर दिनुपर्ने तर्क गर्छन्।

'दोस्रो पुस्ता तयार नभएर होइन। सिस्टम बनेपछि त तयार भइहाल्छ नि। एउटैले माथि ओगटेको ओगट्यै गरेपछि कसरी हुन्छ त?,’ उनले भने।

कसरी पाउँछन् त नयाँ पुस्ताले नेतृत्व?

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई अफ्ठ्यारोमा परेपछि पुस्ता हस्तान्तरणको गफ दिएको रुपमा अर्थ्याए रोकाले। पुस्ता हस्तान्तरणका लागि पार्टीको विधान र संविधानमा व्यवस्था हुनेपर्ने उनको भनाइ छ।

‘सिस्टम भनेको कस्तो भने हो भने अमेरिकामा ८ वर्ष वा दुई पटक भन्दा बढी एक व्यक्ति राष्ट्रपति हुन पाउँदैन। त्यसकारण त्यहाँ हस्तान्तण गर्नैपर्छ। ४ वर्षमा नै चुनाव हारे पनि त कुरै सकियो। बेलायतमा राष्ट्रपति, प्रधानन्त्री जे भए पनि पछिल्लो पल्ट एक सिटबाट मात्रै हार्‍यो भने पनि राजीनामा दिन्छन्,’ रोकाले भने, ‘चीनमा देङसिआइओपिङको बर्चस्व सुरु भएपछि उनले पार्टीमा दुई पटकभन्दा राष्ट्रपति हुन नपाउने भनेर १० वर्षका लागि मिति तोकिदिए। त्यो लगभग सबै पदाधिकारीहरुको हकमा सुरु भयो। यस्तो आवधिक अवस्था निर्माण गर्ने पार्टीभित्र वा मूलकको तय गर्ने हो। मुखले भनेर हुँदैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell