
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्। शुक्रवार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच कुराकानी भएको छ।
अध्यक्षसँग केहीबेर छलफल गरेर महासचिव पौडेल धुम्बाराहीबाट बाहिरिएका छन्। उनीहरुबीच पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको बताइएको छ।
महासचिवपछि अहिले प्रचण्ड संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग कुराकानीमा व्यस्त छन्।
पार्टी कार्यलयका सचिव श्रीराम ढकालका अनुसार उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल पनि अहिले पार्टी कार्यालयमा छन्। उनी आफ्ना कार्यकर्ताहरुसँग भेटघाटमा छन्।
प्रायजसो निवासमा नै छलफल गर्ने नेताहरु आज पार्टी कार्यालयमा जुटेका छन्। पार्टीमा विवाद बढ्दै जाँदा ३ गते बसेको सचिवालय बैठकले १३ गतेलाई अर्को बैठक डाकेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष दाहालले राखेको प्रस्तावको काउन्टर प्रस्ताव राख्ने तयारी गरेका छन्।