PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पार्टी एकताको डोरी चुडिएको छैन : प्रचण्ड, प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रह



कुञ्जरमणि भट्टराई

पार्टी एकताको डोरी चुडिएको छैन : प्रचण्ड, प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान नभए पनि केही मत्थर भने भएको छ। गत मंसिर ३ गतेको सचिवालय बैठकपछि नेताहरुको गुटगत भेला पातलिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पाटी कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छुट्टाछुट्टै परामर्श गरे। प्रचण्डले आज पार्टीको पछिल्लो घटानक्रमबारे  नेताहरुसँग कुराकानी गरेका हुन्।

पौडेल र नेम्वाङसँगको छलफलपछि उनले पार्टीको अवस्था गम्भीर रहे पनि समाधानहीन भने नभएको बताएका छन्। 'परिस्थिति गम्भीर भए पनि समाधानहीन छैन्,' संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने।

प्रचण्डसँगको कुराकानी सकेर बाहिर निस्कने क्रममा महासचिव पौडेलले भने परिस्थिति गम्भीर रहेको प्रतिक्रिया दिए। सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'परिस्थिति धेरै गम्भीर छ।'

प्रचण्डसँगको भेटपछि नेम्वाङले भने पार्टी विवाद मिलाउन आफूहरु लागिरहेको बताएका थिए।

कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्ताव राखेपछि नेकपामा तरंग पैदा भयो। ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रस्तावलाई आरोपत्रको संज्ञा दिएका छन्। उनले त्यसलाई स्वीकारेर जान नसक्ने भन्दै लिखित जवाफ दिने बताएका छन्। उनले जवाफका लागि समय माग गरेका थिए।

महासचिवको आग्रह प्रस्ताव फिर्ता लिनुस्

१३ गतेको सचिवालय बैठकमा ओलीले काउन्टर प्रस्ताव ल्याउन लागेका छन्। पार्टीका दुवै अध्यक्षले फरक-फरक प्रतिवेदन ल्याउन लागेपछि नेताहरुको दौडधुप बढेको छ। शुक्रवारको भेटमा महासचिव पौडेले प्रचण्डलाई सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रचण्डले प्रस्ताव फिर्ता लिएमा नेतृत्वबीच सहमति हुने बताएका हुन्।

'सचिवालयमा बैठकमा राख्नुभएको प्रस्ताव फिर्ता लिएर सहमतितर्फ अघि बढ्नुस्,' पौडेलले प्रचण्डलाई भनेका छन्।

ओलीले यसअघि नै उक्त प्रस्ताव फिर्ता गराउन पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका थिए। तर, नेताहरुले उक्त प्रस्ताव प्रचण्डको मात्र नभएर आफूहरुको संयुक्त प्रस्ताव भएको बताएका थिए। उनीहरुले ओलीलाई कार्यशैली सच्याउन सुझाएका थिए।

नेम्वाङले सम्झाए स्थायी कमिटीको प्रतिवद्धता, प्रचण्डको जवाफ : एकताको डोरी चुडिएको छैन

महासचिव पौडेलसँग कुराकानी सकिएपछि प्रचण्डले धुम्बाराहीमै संसदीय दलको उपनेता नेम्वाङसँग भेट गरेका थिए। भेटमा नेम्वाङले पार्टी एकतादेखि स्थायी कमिटी बैठकले गरेका निर्णय सम्झाएका थिए। 

'स्थायी कमिटीमा तपाईँहरुकै प्रस्ताव अनुसार निर्णय भएको थियो। ती निर्णयहरु कार्यान्वयन नगरेर हुन्छ?,' नेम्वाङले प्रश्न गरेका थिए। 

प्रत्युत्तरमा प्रचण्डले पछिल्ला घटनाक्रम बताउँदै डोरी चुँडिएको छैन भनेका थिए। 'पार्टी एकताको डोरी चुडिएको छैन भन्नुभयो,' प्रचण्डलाई उदृत गर्दै नेम्वाङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell