काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ६५ जिल्लामा कोभिड-१९ का नयाँ संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १० हजार ३४० जनाको नमुना परीक्षण गर्दा एक हजार ९४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि हुनेमध्ये ७४० महिला र एक हजार २०५ जना पुरुष छन्।
पछिल्लो २४ घण्टामा ५.३ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा दुई लाख १६ हजार ९६५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या एक हजार २९८ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३६४ संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। योसँगै संक्रमण मुक्त हुनेको संख्या एक लाख ९१ हजार २ पुगेको छ। जुन कुल संक्रमितको ८८ प्रतिशत हो। त्यस्तै, हाल नेपालमा २४ हजार ६६५ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
पछिल्लो २४ घण्टामा ६५ जिल्लामा संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्र एक हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल थप भएका संक्रमितको ५६.९ प्रतिशत हो।
संक्रमित मध्ये काठमाडौंका ८६२, भक्तपुरका ७१ र ललितपुरका १७४ जना छन्।
पछिल्लो २४ घण्टामा धेरै संक्रमित पहिचान भएका जिल्लामा कास्कीमा ८८ जना, चितवनमा ८७ जना, रुपन्देहीमा ६० जना, सुनसरीमा ५५, काभ्रेमा ५४ र दाङमा ५१ जना छन्।
