PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

यसकारण म्याग्दीमा पहिलो पटक मनाइयो छठ...



रासस

यसकारण म्याग्दीमा पहिलो पटक मनाइयो छठ...

म्याग्दी : वीरगंज स्थायी घर भएका विजयकुमार साह १५ वर्षदेखि बेनीमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। विगत वर्षमा पूर्वी तराईमा बसोबास गर्ने नेपालीले विशेष महत्वका साथ मनाउने छठका लागि साह परिवारसहित तिहारअघि नै जन्मथलो जान्थे।

यसपालि कोरोना महामारीका कारण साहले बेनीमै छठ पर्व मनाउँदै छन्।

‘कोरोनाको जोखिमले गर्दा छठ मनाउन घर जान पाइएन’, उनले भने, ‘आफ्नो संस्कार र संस्कृति छोड्नु हुन्न भनेर बेनीमै छठ मनाउन लागेका छौँ।’

साहलगायत यहाँ बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक छठ पर्व मनाएका हुन्।

करिब दुई दशकदेखि बेनीमा व्यवसाय गर्दै आएका भारतको बिहारका सुकन साहले म्याग्दीमा पहिलो पटक छठ मनाइएको बताए। म्याग्दीलाई २०७५ माघमा नेपालको २१ औँ हिमाली जिल्लामा सूचीकृत गरिएको थियो। बेनी नगरपालिका-८ कालीपुलस्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पूजाआजा र नदीमा वर्तालुले अर्घ्य दिएका छन्।

सूर्यदेवको उपासना गरेर हरेक वर्षको कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ। शुक्रवार साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अर्घ्य दिएकी सीमादेवी साहले शनिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सकिने बताइन्।

पिङ्कीदेवी साहले तीन दिनसम्म पानी पनि नखाई ब्रत बसेर छठ पर्व मनाएको बताइन्। छठको कठोर ब्रत बस्नाले चिताएको पूरा हुने विश्वास छ। शुद्ध बस्त्र लगाएर ब्रत बस्ने चलन छ। नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ्य चढाएका थिए।

ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए। छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए। छठ पूजा गरेको देखेर अनौठो मानेका थिए। आफ्नै जन्मथलोमा जसरी विधिपूर्वक छठ मनाइरहेको सञ्जय साहले बताए। म्याग्दीका विभिन्न ठाउँमा करिब १०० जना तराईवासी र व्यवसायी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell