PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएकोमा खनाल र नेपालको निन्दा : भने, 'दूर्व्यवहार कम्युनिस्ट पार्टीको आदर्श विपरीत'



पहिलोपोस्ट

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएकोमा खनाल र नेपालको निन्दा : भने, 'दूर्व्यवहार कम्युनिस्ट पार्टीको आदर्श विपरीत'

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र  माधवकुमार नेपालले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन्। दुबै नेताले विज्ञप्ति जारी गर्दै पाण्डेमाथि अभद्र व्यवहार गर्नेहरूमाथि कारबाही गर्न माग गरेका हुन्। 

चितवनमा आयोजित एक कार्यक्रममा नेता पाण्डेविरुद्ध नेकपाकै केही नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै अभद्र व्यवहार गरेका थिए।

‘राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको वेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवं भर्त्सना गर्दछु,’ नेता नेपालले  भनेका छन्,  ‘सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु।’

चितवन २ बाट संघीय सांसदसमेत रहेका पाण्डे जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवन पुगेका थिए। उनीविरुद्ध तत्कालीन युवासंघका केही नेताको अगुवाइमा नाराबाजी भएको थियो । 

यस्तै वरिष्ठ नेता खनालले पनि घटनाको निन्दा गरेका छन्। विज्ञप्तिमा भनेका छन्, 'कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell