काठमाडौं : वाग्मती सफाइ महाभियान शुरु भएको ४०० हप्ता हुन लागे पनि नदीमा फोहोर गर्ने क्रम भने रोकिएको छैन। पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिकस्थलमा फोहोर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ।
अभियानकर्मीले सफा गरिरहने र फोहोर फाल्नेले फालिरहने हो भने वाग्मती सधैँ प्रदूषित नै हुने अभियानकर्मीको चिन्ता छ। अभियानकर्मी चक्रबहादुर चन्द शङ्खमूल क्षेत्रमा फोहोर बढ्न थालेको बताउँछन्। सफाइमा स्थानीय सरकारले आवश्यकतानुसार ध्यान नदिएको अभियानकर्मीको गुनासो छ।
पशुपति क्षेत्रको आर्यघाटबाट बगाइएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेको छ। आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेभन्दा कम सहभागिता जुट्न थालेपछि फोहोर बढ्न थालेको स्वीकार्छन्। फलस्वरुप नदीमा कालो पानी बग्न थालेको छ।
वाग्मती सफाइ महाभियानको ३९३औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको सफाइ अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भएको छ। पशुपति भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिएको उनले बताए।
यसैगरी, शङ्खमूल क्षेत्रमा वाग्मती मनोहरा दोभान र बुद्धनगर सत्य साइबाबा उद्यान क्षेत्रमा सफाइ गरिएको छ। यस क्षेत्रको नदी किनारका दायाँबायाँमा रहेका घर, पसल, ग्यारेज व्यवसायीलगायतलाई जनचेतनामूलक अभियानसहित फोहर टिपेर कुहिने र नकुहिनेमा वर्गीकरणका साथ व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन्।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ। कोरोना महामारी भए पनि सफाइ अभियानमा सहभागिता बढ्न थालेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।
विष्णुमती सफाइ अभियानको ३२२औँ हप्तामा काठमाडौं महानगरपालिका-१७ स्थित शोभाभगवती खुसीबुँमा जम्मा भई छलफलसहित अर्को हप्ता शनिवारदेखि नदीमा स्काभेटर चलाएरै सफाइ गर्ने निर्णय भएको छ। महानगरका वडा नम्बर १५, १६ र १७ मा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने निर्णय बैठकले गरेको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए।
मनोहरा सफाइ महाअभियानको १९२औँ हप्तामा काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित कृषिबजारअघिको नदी किनारमा सफाइ गरिएको छ। सफाइबाट एक गाडी फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए। सफाइमा करिब ५० अभियानकर्मीको सक्रियता थियो।
ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९०औँ हप्तामा खोलाका विभिन्न स्थानमा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ। सबै क्षेत्रको सफाइ अभियान भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको जनाइएको छ। विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीसहित देशका प्रमुख नदी एवं शहर गरी हालसम्म १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको छ। कोरोनाबाट बच्न गत वर्ष चैतमा लकठाउन जारी गरिएपछि भने सफाइ अभियानमा सुस्तता छाएको छ।