सप्तरी : आठ महिनादेखि बन्द रहेको सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतवारदेखि अध्ययन, अध्यापन शुरु हुने भएको छ। कञ्चनरुप नगरपालिकाअन्तर्गत रहेको माध्यमिक तह, उच्च मावि र क्याम्पस तहको कक्षा आइतवारदेखि सञ्चालन गर्न लागेको कञ्चनरुप शिक्षा शाखाले जनाएको छ।
शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले कोभिड-१९ महामारीको अवस्था विश्लेषण गरेर भौतिक रूपमै विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाइ कक्षा सञ्चालन गर्न लागिएको शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरीले बताए। चौधरीका अनुसार विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने-गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराइने छ।
कोभिड-१९ का कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खोल्न लागिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए। नगरपालिकाको शिक्षा समितिको २०७७ कात्तिक १९ गतेको निर्णयले मंसिर ७ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको थियो।
लामो समयदेखि बन्द रहेको विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बताएका छन्। यो निर्णयसँगै कञ्चनरुप नगरपलिकाभित्र सामुदायिक र निजी गरी १५ माध्यमिक विद्यालय तथा चारवटा कलेज (क्याम्पस) सञ्चालनमा आउनेछन्।