काठमाडौं : आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्रका सडकमा ट्राफिक प्रहरीको उपस्थित बाक्लो देखिएको छ। तर, आज सडकमा देखिने ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर उभिएका देखिन्छन्। यी प्लेकार्डमा सडक नियम पालना गर्नुपर्ने सचेतनामूलक जानकारी दिइएको छ।
महानगरीय ट्राफिक प्रहरीले आज विशेष अभियान चलाएको महाशाखाका प्रमुख एसएसपी ढकालले जानकारी दिए। उनी यो अभियानलाई विशेष र 'सरप्राइज' अभियान समेत भन्छन्। आज दिनभर काठमाडौं उपत्यकाभित्र ट्राफिक प्रहरीले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने छैन। बरु, उनीहरूलाई सम्झाई बुझाइ गरेर छोडिने छ।
'यो विशेष अभियान हो। यसले चालकहरूमा ट्राफिकले कारबाही मात्र गर्छ भन्ने भावना नहोस् ट्राफिक नियम आफ्नो लागि पनि हो भनेर यस्तो गरिएको हो,' एसएसपी ढकालले भने।
तर, ट्राफिकले कारबाही नै गर्दैन भन्ने चाहिँ होइन। गम्भीर प्रकृतिका लापरवाहीबाहेक साधारण लापरबाहीमा मात्र सम्झाएर छोडिने हो। महाशाखाले यो अभियानको लागि भन्दै विभिन्न सिफ्टमा करिब ११ सय ट्राफिक प्रहरी परिचालन गरेको छ।
'आज प्राय सबै ट्राफिक प्रहरी हातमा सचेतना प्लेकार्ड लिएर बसेका हुन्छन्। उनीहरूले सबै चालकलाई नियमको बारेमा सम्झाउने गर्दछन्,' एसएसपी ढकालले भने। त्यस्तै ट्राफिक प्रहरीले सडकमा डमी प्रहरी समेत राखेको छ।
