काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेप्रति भएको अभद्र व्यवहारप्रति खेद प्रकट गरेको छ। चितवन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डे नेकपा राप्ती नगर कमिटीको तेस्रो बैठकमा बोल्दै गर्दा शनिवार उनीविरुदध पार्टीका नेता-कार्यकर्ताले नाराबाजी गरेका थिए।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार 'इन्द्रजीत' र सचिव कृष्णभक्त पोखरेलले आइतवार विज्ञप्ति जारी गर्दै मदन भण्डारी फाउन्डेसन सञ्चालन गर्दै आएका केही अनुशासनहीन र अराजक समूहले उक्त घटना घटाएको ठम्याइ गरेको छ।
'विगत केही दिनदेखि पार्टीको विधान र केन्द्रीय कार्यालयको पाँचौं अन्तरपार्टी निर्देशन विपरीत मदन भण्डारी फाउन्डेसन सञ्चालन गर्दै आएका केही अनुशासनहीन र अराजक समूहले पार्टी नेताहरुको मानमर्दन गर्ने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचारका साथै अनुशासनहीन गतिविधि गर्दै आएको जानकारी हुन आएको छ त्यस्ता अराजक व्यक्तिहरुको झुण्डबाट नै सुनियोजितरुपमा उक्त घटना घटाइएको हो भन्ने हाम्रो बुझाइ छ,' विज्ञप्तिमा भनिएको छ।
सो घटनामा संलग्न व्यक्तिलाई छानबिन गरी कार्बाही गर्ने जानकारी दिएका छन्।
'यस्ता अराजक गतिविधिबाट पार्टीका कुनै पनि कमिटी तथा कार्यकर्ताहरु प्रभावित नहुन र पार्टीको विधि, विचार र सिद्धान्त बमोजिम सांगठनिक कार्यमा लाग्न जिल्ला कमिटी चितवन आह्वान गर्दछ साथै घटनामा संलग्न त्यस्ता अराजक व्यक्तिहरुलाई छानविन गरी पार्टी विधान बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।