काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राप्ति नगर कमिटीले पार्टीका नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा होहल्ला गर्नेलाई कारवाही गर्न पार्टी जिल्ला कमिटीलाई सिफारिस गरेको छ।
केन्द्रमा विवाद चर्किँदै जाँदा तल्ला तहमा पनि विवाद बढ्दै गएको छ। शनिवार मात्र नेकपा चितवन अन्तर्गत क्षेत्र नं. १ को राप्ती नगरपालिकामा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य पाण्डे माथि दुर्व्यवहार भएको थियो।
नेकपा राप्ती नगर कमिटीको तेश्रो बैठक चलिरहेको बेलामा पाण्डेले आफ्नो मन्तव्य व्यक्त गरिरहेको अवस्थामा पार्टी कमिटीभन्दा बाहिरका व्यक्तिहरुको हुल प्रवेश गरी नाराबाजी गरी बैठकलाई विथोल्ने प्रयास गरेको थिए। सो घटना प्रति नगरकमिटीले गंभीर ध्यानाकर्षण भएको जनाएको छ।
राप्ती कमिटी अध्यक्ष इमानसिंह लामा र सचिव रामचन्द्र पाठकले वक्तव्य जारी गर्दै कमिटी पद्धति विधान भन्दा बाहिर गई निर्देशित रुपमा कार्यक्रम विथोल्ने प्रयास भएको जनाएको छ।
'सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निमार्ण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्यिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसहाउने उक्त कार्य गर्ने, गराउने जो सुकै भए पनि छानविन गरी कडा भन्दा कडा कार्वाहीको लागि पार्टी जिल्ला कमिटीलाई सिफारिस गर्दछौं,' वक्तव्यमा भनिएको छ।
वक्तव्यमा सामाजिक संजालहरुमा नेता प्रसाद पाण्डे प्रति अभद्र व्यवहार नभएको र कार्यक्रम नबिथोलिएको समेत दाबी गरिएको छ।
'सामाजिक सञ्जालहरुमा पाण्डे प्रति अभद्र व्यवहार भएको र कार्यक्रम विथोलिएको भन्दै भ्रामक समाचार आएको सत्य नभई बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोले कसैलाई पनि भ्रममा नपर्नुहुनको लागि अनुरोध गर्दछौं,' वक्तव्यमा भनिएको छ।
यता नेकपाको जिल्ला कमिटीले पनि घटना प्रति आपत्ति जनाएको छ।
'नेकपा राप्ती नगर कमिटी चितवनको तेस्रो बैठक पार्टी स्थायी कमिटी सदस्य तथा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पूर्व सफल अर्थमन्त्री कमरेड सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका नेताहरुको उपस्थितिमा सम्पन्न भयो,' पार्टीका जिल्ला अध्यक्ष यामबहादुर परियार 'इन्द्रजीत' र सचिव कृष्णभक्त पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, 'उक्त बैठकमा नेता कमरेड सुरेन्द्र पाण्डेले सम्बोधन गरिरहेको अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका केही अराजक व्यक्तिहरुले होहल्ला गरी बैठक विथोल्न खोजेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको गम्भिर ध्यानाकर्षण भएको छ।'
वक्तव्यमा नेता पाण्डे कुनै गुटगत गतिविधिमा संलग्न नरहेको र पार्टीभित्र देखा परेको विवाद मिलाउन गत असारमा गठन गरिएको कार्यदलको सदस्यको रुपमा रहेर महत्वपूर्ण भूमिका समेत निर्वाह गरेकोसमेत भनिएको छ। वक्तव्यमा राप्ती नगरपालिकामा भएको कार्यक्रम केही मिडियाले भनेजस्तो कुनै गुटको कार्यक्रम नभई पार्टी नगर कमिटीको औपचारिक बैठक रहेकोसमेत स्पष्ट पारिएको छ।
'नेकपा विधि र पद्धतिगत ढंगले चल्ने अनुशासित पार्टी हो, तर विगत केही दिनदेखि पार्टीको विधान र केन्द्रीय कार्यालयको पाँचौं अन्तरपार्टी निर्देशनविपरीत मदन भण्डारी फाउन्डेसन सञ्चालन गर्दै आएका केही अनुशासनहीन र अराजक समूहले पार्टी नेताहरुको मान मर्दन गर्ने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचारका साथै अनुशासनहीन गतिविधि गर्दै आएको जानकारी हुन आएको छ,' वक्तव्यमा भनिएको छ, 'त्यस्ता अराजक व्यक्तिहरुको झुण्डबाट नै सुनियोजितरुपमा उक्त घटना घटाइएको हो भन्ने हाम्रो बुझाइ छ। यस्ता अराजक गतिविधिबाट पार्टीका कुनै पनि कमिटी तथा कार्यकर्ताहरु प्रभावित नहुन र पार्टीको विधि, विचार र सिद्धान्तबमोजिम सांगठनिक कार्यमा लाग्न जिल्ला कमिटी चितवन आह्वान गर्दछ।'
नेकपा चितवनले घटनामा संलग्न अराजक व्यक्तिहरुलाई छानविन गरी पार्टी विधानबमोजिम कारबाही गरिनेसमेत बताएको छ।
