काठमाडौं : नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः राम कुमार पाँडे र राजाराम पौडेललाई दिइएको छ। शनिवार पुरस्कार गुठीले भैरव स्मृति भवनमा कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिएको हो।
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गरे। दुवै पुरस्कारको राशी क्रमश: एक लाख र पचास हजार रुपैयाँ हो। रकम हस्तान्तरण सँगै भैरव अर्यालको पूर्ण कदको शालिक निर्माण समेत घोषणा गरिएको छ। चालिसेले उक्त शालिक नगरपालिकाको कार्यालय परिसरमा राखिने बताइएको छ।
हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कृत स्रष्टा राजाराम पौडेल नेपाली हाँस्य कला क्षेत्रका अमूल्य निधि भएको बताए। साहित्यकार विजय चालिसेले नेपाली हाँस्य व्यङ्ग्य साहित्यलाई उर्वर बनाउने काम भैरव अर्यालले गरेको स्मरण गरे।
समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनु भएको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो। भैरव पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले २०४६ साल देखि प्रत्येक २–२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने जानकारी दिए।
