PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

भीम रावलको प्रश्न : नेकपा माटोको हाँडी हो र, कसैले लौरीले हानेर प्याट्ट फुटाउनलाई?



एम बम

भीम रावलको प्रश्न : नेकपा माटोको हाँडी हो र, कसैले लौरीले हानेर प्याट्ट फुटाउनलाई?

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अहिले कुनै पनि हालतमा फुट्ने अवस्थामा नरहेको बताएका छन्। प्रेस सङ्गठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कसै एक व्यक्तिले भनेको आधारमा पार्टी फुट्ने अवस्था नरहेको बताएका हुन्।

‘पार्टी फुट्छ भन्ने कुरालाई प्रतिकात्मक रूपमा भन्दा यो कुनै माटोको हाँडी होइन, कसैले लौरीले हानेर प्याट्ट फुटाएर ल आजका मितिबाट फुट्यो भन्नलाई,’ रावलले भने,  ‘त्यसका लागि प्रक्रिया चाहिन्छ, यो कुनै कमजोर आधारमा बनेको पार्टी होइन।’

‘पार्टी विभाजन हुन सैद्धान्तिक विषय हुन पर्छ। त्यसलाई विभाजन गर्ने मान्छेहरूले सहमति गर्ने, पत्रहरूमा हस्ताक्षर गर्ने प्रक्रियामा गएको हुन पर्छ। अहिलेसम्म त्यस्तो भएको छैन,’ रावलले भने।

प्रक्रिया विना नै पार्टी फुट्छ भन्नु नै गलत कुरा भएको भन्दै नेता रावलले कसैको व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउन नपाइनेमा जोड दिए।

रावलले पार्टीका २ अध्यक्षले अन्य नेताहरूलाई बेवास्ता गरेर अगाडि बढ्न नहुनेमा समेत जोड दिए। पार्टीभित्रको अन्तर्विरोधलाई लिएर अध्यक्ष द्वयले आ–आफ्नो कुरा मात्रै अगाडि सार्न नहुने भन्दै सबैका कुराहरू सुनुवाइ हुनुपर्ने उनको भनाइ छ। पार्टीको सुदूरपश्चिम इन्चार्जसमेत रहेका रावलले यसअघि आफुहरुले पार्टीलाई दिएको सुझावलाई नजरअन्दाज गर्न नहुने बताए। उनले गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले सङ्घीय सरकार र प्रदेश सरकार हेरफेर गर्ने निर्णय गरेकोसमेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell