PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

एक जना चिकित्सकमा कोरोना पुष्टि भएपछि हुम्लाको जिल्ला अस्पताल बन्द



रासस

एक जना चिकित्सकमा कोरोना पुष्टि भएपछि हुम्लाको जिल्ला अस्पताल बन्द

सिमकोट : एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

आइतवार बिहान २८ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।

उनले संक्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरिने बताइन्। यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो।

कोरोना जोखिमका कारण सबै विद्यालय बन्द

कोभिड-१९ को उच्च जोखिमका कारण जिल्लाका सम्पूर्ण विद्यालय यही मंसिर ५ गतेदेखि बन्द भएका छन्।

उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका-६ को याल्वाङ्ग गुम्बामा आठ जनामा कोरोना संक्रमण देखिएपछि प्रजिअ चिरञ्जीवी गिरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मंसिर ५ गतेदेखि अनिश्चितकालका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने र आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell