PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

नेपालगञ्जमा बसेर ब्राजिलमा भन्दै फेसबुकबाट नै १० लाख रुपैयाँ ठग्ने समातिए



पहिलोपोस्ट

नेपालगञ्जमा बसेर ब्राजिलमा भन्दै फेसबुकबाट नै १० लाख रुपैयाँ ठग्ने समातिए

काठमाडौं : विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जाल फेसबुक मार्फत् ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसन्धानको आधारमा बाँके प्रहरीले बाजुरा हिमाली गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय रुपेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको हो। पाण्डेले एक महिलालाई आफू ब्राजिलमा भएको र समस्या परेको भन्दै पटकपटक गरेर १० लाख २८ रुपैयाँ ठगी गरेको देखिएको छ।

'उनीहरु फेसबुक मार्फत् जोडिएका हुन्। उसले ब्राजिल भन्दै नेपालगञ्जमा बसेर ठगी गरेको देखियो। उसले परिवार बिरामी परेको भन्दै रकम मागेको थियो,' जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले भने।

प्रहरीले पाण्डेलाई नेपालगञ्जमा रहेको एक आइएमईबाट रकम झिक्दै गर्दा पक्राउ गरेको हो। पीडित महिला भने शिक्षिका हुन्। उनका श्रीमानले विदेशबाट पठाएको रकम युवकलाई समस्या परेको भन्दै दिने गरेको खुलेको हो। युवकले लामो समयसम्म पनि पैसा फिर्ता नदिपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्।

'यो समाजिक सञ्जालबाट हुने ठगी हो। त्यसैले नचिनेको मानिससँग आर्थिक कारोबार गर्दा सचेत हुनुपर्ने देखिन्छ,' एसपी  बोगटीले भने।

त्यस्तै, अभियुक्त पाण्डेले अन्य मानिसलाई पनि ठगी गरेको हुनसक्ने आशंका प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। जिल्ला अदालत स्याङजाबाट सात दिनको म्याद थप गरी पाण्डेमाथि अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell