PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो, सुनसरीमा मात्रै ४ दिनमा ३० जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो, सुनसरीमा मात्रै ४ दिनमा ३० जनाको मृत्यु
फाइल फोटो।

काठमाडौं : पछिल्लो ४ दिनमा प्रदेश १ को सुनसरीमा मात्रै ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतवार २ महिलासहित ६ जनाको मृत्यु भएसँगै सुनसरीमा ४ दिनभित्र ३० जना संक्रमितले कोरोना संक्रमणका कारण ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।

शनिवार मात्र सुनसरीमा ६ जना नयाँ संक्रमित थपिँदा ८ जना संक्रमितको मृत्यु भएको थियो। त्यस्तै, आइतवार नेपालभर १६ जनाको मृत्यु हुँदा प्रदेश १ मा मात्र ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ को कोरोना हटस्पट बनेको मोरङ, सुनसरी र झापामा संक्रमित संख्यासँगै मृत्युदर पनि बढ्दो छ। प्रदेश १ मा हालसम्म ३३२ जनाको मृत्यु हुँदा सुनसरीमा मात्र १२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमा ४६ महिला र ७७ पुरुष रहेका छन्।

त्यस्तै, मोरङमा हालसम्म २६ महिलासहित १०१ जना संक्रमितको मृत्यु भएको छ भने झापामा २० महिलासहित ६१ जनाको मृत्यु भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसैगरी, उदयपुरमा ७, धनकुटामा ६, तेह्रथुममा ४, ताप्लेजुङ र इलाममा २/२ र पाँचथरमा एक जना संक्रमितको मृत्यु भएको छ। प्रदेश १ बाहिरका २५ जना संक्रमितको मृत्यु भएको उक्त कार्यालयको तथ्यांक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell