PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आन्तरिक राजश्व कार्यालयको सम्मान



रासस

कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आन्तरिक राजश्व कार्यालयको सम्मान

कास्की : आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ।

नवौँ राष्ट्रिय कर सप्ताह समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम र स्याङ्जाको सूर्योदय लघुवित्त सहकारी संस्थाका सञ्चालक गुणाखर सापकोटालाई सम्मान गरिएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिए।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले उत्कृष्ट करदाताहरुलाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका थिए।

कर सप्ताहअन्तर्गत यस वर्ष लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स, पृथ्वीनारायण क्याम्पसका व्यवस्थापनका विद्यार्थीसँग कर सचेतना तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए।

कार्यालयले चालू आर्थिक वर्षमा चार अर्ब ८२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकामा पहिलो चौमासिकमा एक अर्ब २० करोड रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ। कात्तिक मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो।

आन्तरिक राजश्व कार्यालय पोखराअन्तर्गत कास्की र स्याङ्जामा गरी एक लाख ५८ हजार ८५ करदाता कार्यालयमा दर्ता भएको कर अधिकृत लामिछानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell