PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रहरीमा महिला इन्चार्जः काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिलाको कमाण्डमा



सविन ढकाल

प्रहरीमा महिला इन्चार्जः काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिलाको कमाण्डमा

काठमाडौं : सुरक्षा चुनौतीको हिसाबले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लालाई निकै महत्वका साथ हेरिन्छ। र, उच्च प्राथमिकतामा पनि राखिन्छ। महत्व बढी हुनुको अर्थ हो, आफूलाई स्थापित गर्न यहीँको पोस्टिङको अपेक्षा हुनु। आफूलाई अम्बल स्थापित गर्न प्रहरी अधिकृतहरु यहीँको दरबन्दीका लागि दौडधुपमा राम्रै भिडिरहेका हुन्छन्।

काठमाडौं, ललितपुर र भक्तपुर महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रहेका छन्। यसपटक तीनवटा जिल्लामध्ये दुई वटामा प्रहरी नेतृत्व महिलाले सम्हाल्न थालिसकेका छन्। ललितपुर र भक्तपुरको प्रहरीको कमाण्ड महिलाको हातमा रहेको छ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार आइतवार (मंसिर ७) गतेबाट लागू हुनेगरी ३३ जना एसएसपी सरुवा गरिँदा एसएसपी किरण बज्राचार्य ललितपुरको कमान सम्हाल्ने जिम्मेवारीमा आइपुगिन्। आजबाट उनले महानगरीय प्रहरी परिसर ललितपुरको इन्चार्ज बुझेकी हुन्। बज्राचार्य परिसर अन्तर्गत एसएसपीको कमाण्डमा नेतृत्व सम्हाल्ने पहिलो महिला पनि बनेकी छिन्।

'मेरो सरुवा भएपछि नै धेरैले महिला कमाण्ड भनेर प्रोहोत्सान गरिरहनु भएको छ। त्यसैले उहाँहरुले देखाएको विश्वासलाई यथार्थमा बदल्न चुनौती झनै थपिएको छ। मेरो कार्यकालमा थप शान्तिपूर्ण र सुरक्षित जिल्ला बनाउन लागि पर्नेछु,' एसएसपी बज्राचार्यले भनिन्।

बज्रचार्य यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन्। त्यस्तै, उनलाई जिल्लाको कमाण्ड सम्हालेको अनुभव भने पहिलो होइन। उनले महानगरीय प्रहरी परिसर भक्तपुरका इन्चार्ज भएर काम गरिसकेकी छिन्। प्रदेश नम्बर २ को ट्राफिक प्रहरी प्रमुखको समेत अनुभव उनमा छ।

पछिल्लो समय नेपाल प्रहरीभित्र धैरै महिला प्रहरीले इन्चार्ज बुझेका छन्। जिल्लामात्र होइन इलाका प्रहरी कार्यालय, प्रभाग र चौकीमा समेत महिला प्रहरीको इन्चार्ज रहेको छ।

'क्षमताको आधारमा जिम्मा दिने हो। अहिले जिल्लादेखि तलका सबै विभाग, चौकीहरुमा महिला इन्चार्ज हुनुहुन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कठायतले भने।

जिल्ला प्रहरी कार्यालय पर्सा र सिन्धुलीमा पनि महिला इन्चार्ज छन्।

भारतसँग सीमा जोडिएको कारण पनि पर्सा सुरक्षाको हिसाबले निकै महत्वपूर्ण मानिन्छ। विगत १० महिनादेखि एसपी गंगा पन्तले पर्सा जिल्लाको सुरक्षा कमाण्ड चलाइरहेकी छिन्। माघमा सरुवा भएर पर्सा पुगेकी पन्तको नेतृत्वले सुन तस्करीदेखि अन्य अपराधिक गतिविधिलाई निस्तेज गर्न सफल पनि भएको छ।

'सुरुमा महिला प्रहरी भन्दा नपत्याउने किसिमको हुने रहेछ। सधैं कुर्सीमा पुरुष प्रहरी देखिरहेकालाई केही नौलो मान्थे। तर पछि काम गर्दै गएपछि झन् विश्वास महिलाले गलत गर्दैनन् भन्ने भावना विकास हुने रहेछ,' एसपी गंगा पन्तले अनुभव सुनाइन्।

काठमाडौं उपत्यकाभित्रको महानगरीय प्रहरी परिसर भक्तपुर पनि महानगर अन्तर्गत परे पनि त्यहाँ एसपीको कमाण्ड रहँदै आएको छ। अहिले परिसर भक्तपुरमा एसपी तारादेवी थापा छिन्। उनी विगत ५ महिना देखि परिसरको जिम्मेवारी सम्हालिरहेकी छिन्।

प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनेकी थिइन्, दुर्गा थापा। नेपाल प्रहरीको ६५ वर्षीय इतिहासमा अहिलेसम्म डीआइजीमा पार्वती थापा र विमला थापामात्र पुगेका छन्। एआइजी दुर्गा थापा भने प्राविधिक तर्फकी हुन्। उनले ३० वर्षे सेवा अवधिका कारण २०७६ पुसमा अवकाश भइन्। अहिले पनि नेपाल प्रहरीको एआइजी पदमा एक महिला छिन्, डाक्टर आशा सिंह। उनले नेपाल प्रहरी अस्पतालको प्रमुखको रुपमा काम गरिरहेकी छिन्।

त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङ पनि इन्चार्जको भूमिकामा छिन्। उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको इन्चार्ज हुन्। पछिल्लो समय देशभित्र भएका अपराधिक गतिविधिमा प्रहरीको तालिम प्राप्त कुकुरको अनुसन्धान प्रभावकारी देखिएको छ। कुकुरकै कारणले धेरै अनुसन्धानमा प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको देखिन्छ।

अहिले नेपाल प्रहरीमा  ६ हजार ९ महिला प्रहरी कार्यारत छन्। सबैभन्दा धेरै चाहिँ प्रहरी जवान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell