काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा चिनियाँ सक्रियता बढेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल र चिनिया राजदुत होउ यान्छीबीच सोमवार बिहान भेट भएको छ। राजदूत होउ ९: १५ मा प्रचण्ड निवास खुमलटार पुगेकी थिइन्।
उनीहरुबीच शीष्टाचार भेटघाट भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिए। उनका अनुसार प्रचण्ड र होउबीच दुई देश, चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्धको विषयमा छलफल भएको छ। त्यस्तै हालै सम्पन्न नेपाली चाडपर्वको शुभकामना आदानप्रदान भएको सापकोटाले जानकारी दिए।
झण्डै आधा घण्टा भएको छलफलमा चिनियाँ राजदूत होउले नेपाल कम्युनिस्ट पार्टीको विवादको विषयमा चासो राखेको बताइएको छ। गत साता मात्र उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्।
गत मंसीर २ गते राती प्रधानमन्त्री ओलीसँगको भेटका लागि राती राजदूत होउ बालुवाटार पुगेकी थिइन्।
नेकपा विवादको बेला चिनियाँ राजदूतको सक्रियता बढ्दै आएको छ। सरकारले गत वैशाखमा राजनैतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा विवाद बढेको थियो। सोही बेला उनको सक्रियापछि विवाद समाधानमा भूमिका खेलको बताइन्छ। त्यस्तै असारमा नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजिनामा मागिएपछि नेकपाको विवाद पुन: छताछुल्ल भएको थियो। त्यतिवेला पनि राजदूत होउले राष्ट्रपति, प्रधानमन्त्रीसहित नेकपाका अर्का अध्यक्ष प्रचण्डसहित नेताहरु माधव नेपाल र झलनाथ खनाललाई पनि छुट्टा छुट्टै भेट गरेकी थिइन्।
कार्तिक २८ गतेको सचिवलाय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि विवाद झनै चर्किएको छ।३ गतेको सचिवालय बैठकमा ओलीले आफूले त्यसको जवाफ दिने भन्दै १० दिनको समय मागेका थिए।
१३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको काउन्टर प्रस्ताव पेश गर्ने ओलीको तयारी छ। तर, दोस्रो तहका नेताहरु यसले पार्टीमा दुर्घटना निम्त्याउने भन्दै अध्यक्षद्वयले संयुक्त प्रतिवेदन ल्याउनुपर्ने भन्दै सक्रियता बढाएका छन्।
