PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली-प्रचण्ड मिलाउन दोस्रो तहका नेताहरुको दौडधुप, प्रस्ताव फिर्ता नलिने प्रचण्डको अडान कायमै



कुञ्जरमणि भट्टराई

ओली-प्रचण्ड मिलाउन दोस्रो तहका नेताहरुको दौडधुप, प्रस्ताव फिर्ता नलिने प्रचण्डको अडान कायमै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो तहका नेताहरुले विवाद मिलाउन सक्रियता बढाएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच समझदारी बनाउनका लागि नेताहरु दौडधुप जारी छ।

सोमवार बिहान स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। त्यस्तै उनीहरुको छलफलपछि नेताहरु जनार्दन शर्मा, प्रभु शाह प्रचण्ड निवास खुमलटार पुगेका थिए।

त्यसअघि, आइतवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पक्षका स्थायी कमिटी सदस्यहरुले दुई नेतालाई मिलाएर जाने विषयमा छलफल गरेका थिए।

उक्त छलफलमा नेताहरु शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल लगायताका नेताहरु सहभागी थिए।

'अहिलेको अवस्थाबारे दुई अध्यक्षलाई जानकारी गराउने र एकताका निमित्त पहल गर्ने विषयमा दुई पक्षका नेताहरु बसेका थियौं,' छलफलमा सहभागी एक नेताले भने।

पूर्व माओवादी पक्षका नेताहरु पार्टी एकतालाई बचाउँदै कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफलका लागि खुमलटार पुगेका थिए।

कार्तिक २८ गतेको सचिवलाय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि विवाद झनै चर्किएको छ। ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आरोपको जवाफ दिने भन्दै १० दिनको समय मागेका थिए। १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको काउन्टर प्रस्ताव पेश गर्ने ओलीको तयारी छ। ओली पक्षीय नेताहरु भने प्रचण्डको प्रस्ताव फिर्ता गरेर अध्यक्षद्वयले संयुक्त प्रस्ताव ल्याउनुपर्ने पक्षमा छन्। स्थायी कमिटी सदस्य विष्णु रिमालले प्रचण्डको उक्त प्रस्तावलाई अराजनीतिक प्रस्ताव भन्दै फिर्ता लिए विवाद मिल्ने अभिव्यक्ति दिइसकेका छन्।

प्रस्ताव फिर्ता नलिने अडानमै प्रचण्ड

तर, प्रचण्ड प्रस्ताव फिर्ता नलिने अडानमा कायम छन्। 'अध्यक्ष प्रचण्ड प्रस्ताव फिर्ता लिने पक्षमा हुनुहुन्न। अर्का अध्यक्षको प्रस्ताव कस्तो आउँछ त्यसमा भिडेरै जाने मनस्थितिमा हुनुहुन्छ। उहाँ अब पछि हट्ने पक्षमा हुनुहुन्न,' पूर्व माओवादी पक्षका स्थायी कमिटी सदस्यले भने।

त्यस्तै, सोमवार प्रचण्डलाई भेट्न पुगेका नेता गजुरेलका अनुसार पनि प्रचण्ड प्रस्ताव फिर्ता लिने पक्षमा छैनन्।

'आफूलाई लागेका कुराहरु राखेर जानुपर्छ। आ-आफ्ना विचारहरु राख्दै अघि बढ्नुपर्छ भनेर प्रस्ताव ल्याएको हो। यसले समस्या कहाँ रहेछ भन्ने थाहा हुन्छ। उहाँहरुले पनि ल्याउनुहोला। त्यस्तो बहसले राम्रै गर्छ भन्नुभयो,' गजुरेलले प्रचण्डको भनाइ उदृत गर्दै भने।

पार्टीका दुई अध्यक्षले संयुक्त दस्तावेज ल्याउनुअघि अर्को अध्यक्षको प्रस्ताव आउनुपर्ने पक्षमा नेताहरु छन्। सोही अनुसार मंसिर ५ गते महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रचण्डसँग भेटघाट गरेका थिए। पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा महासचिव पौडेलले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिएर अघि बढ्न आग्रह गरेका थिए।

गजुरेलले ओलीको प्रस्ताव आएपछि मात्रै संयुक्त प्रस्तावबारे छलफल गर्नुपर्ने बताए।

'अर्को अध्यक्षको प्रस्ताव कस्तो आउँछ? त्यो आइसकेपछि संयुक्त दस्ताबेजको बारेमा छलफल होला। आरोप प्रत्यारोप यथास्थितिमा राखेर पार्टी अघि बढ्न त सक्दैन्,' उनले भने।

त्यसो त प्रचण्डको प्रस्तावमा सचिवालयका बहुमत सदस्यले अपनत्व लिएका छन्। अन्य कमिटीहरुमा जाँदा पनि बहुमत पुग्ने भएकाले प्रस्तव फिर्ता नलिने पक्षमा प्रचण्ड पुगेको नेताहरु बताउँछन्।

दोस्रो तहका सक्रियताले कलह सुल्झेला?

दोस्रो तहका नेताहरुको सक्रियता खासै उपलब्धीमूलक नभएको नेकपाकै नेताहरु बताउँछन्।

'ज-जसले आफूलाई दोस्रो तहको नेता भनेर पार्टी विवाद मिलाउन लाग्नुभएको छ। उहाँहरुको मानसिकता पार्टी भन्दा पनि सत्ता केन्द्रित नै देखिन्छ,' स्थायी कमिटी सदस्य गणेश शाहले भने।

उनले कोर लिडरसीप भनिएको सचिवालयले काम गर्न नसकेको महासचिव विष्णु पौडेलको प्रस्तावमा अघि बढ्नुपर्ने अवस्था आउसक्ने बताए। महासचिव विष्णु पौडेलले ३ गतेको सचिवालय बैठकमा सचिवालय असफल भएको भन्दै सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव राखेका थिए।

 

चिनियाँ राजदूतको पनि सक्रियता

नेकपा विवाद उत्कर्षमा पुगिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ। उनले आज बिहान नेकपा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी छिन्। राजदूत होउ साेमवार बिहान ९:१५ बजे प्रचण्ड निवास खुमलटार पुगेकी थिइन्।

उनीहरुबीच शीष्टाचार भेटघाट भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिए। उनका अनुसार प्रचण्ड र होउबीच दुई देश, चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्धको विषयमा छलफल भएको छ। त्यस्तै, हालै सम्पन्न नेपाली चाडपर्वको शुभकामना आदानप्रदान भएको सापकोटाले जानकारी दिए।

झण्डै आधा घण्टा भएको छलफलमा चिनियाँ राजदूत होउले नेपाल कम्युनिस्ट पार्टीको विवादको विषयमा चासो राखेको बताइएको छ। गत सातामात्र उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्। मंसिर २ गते राती प्रधानमन्त्री ओलीसँगको भेटका लागि राजदूत होउ बालुवाटार पुगेकी थिइन्।

नेकपा विवादको बेला चिनियाँ राजदूतको सक्रियता बढ्दै आएको छ। सरकारले गत वैशाखमा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा विवाद बढेको थियो। त्यतिखेर चिनियाँ राजदूतको सक्रियतापछि विवाद समाधानमा भूमिका खेलको बताइन्छ।

त्यस्तै, गत असारमा नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि नेकपाको विवाद पुन: छताछुल्ल भएको थियो। त्यतिबेला पनि राजदूत होउले राष्ट्रपति, प्रधानमन्त्री सहित नेकपाका अर्का अध्यक्ष प्रचण्डसहित नेताहरु माधव नेपाल र झलनाथ खनाललाई पनि छुट्टा छुट्टै भेट गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell