PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चोर बाटोबाट फेरि भित्रियो ‘टेस्ला’, ६ वटा कारको मुद्दा अदालतमा



राधेश्याम पटेल

चोर बाटोबाट फेरि भित्रियो ‘टेस्ला’, ६ वटा कारको मुद्दा अदालतमा

वीरगंज : चोर बाटोबाट गैरकानुनी किसिमले भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ। वेस्टार ग्लेक्सी प्रालि काठमाडौंले नयाँ फर्म (कम्पनी) खडा गरेर दुई वटा टेस्ला कार नेपाल भित्र्याएको हो।

अमेरिकन कम्पनीका दुई वटा टेस्लाको कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाट वेस्टार ग्लेक्सीको नयाँ फर्मले भित्र्याएको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। भन्सार अधिकृत चुडामणि शर्माका अनुसार अवैध रुपमा भित्रिएका ६ वटा गाडीहरुको मुद्दा सर्वोच्च अदालत र जनकपुर उच्च अदालत स्थायी ईजलाश वीरगंजमा चलिरहेको अवस्थामा फेरि दुई वटा कार अवैध रुपमै भित्रिएको हो।

‘करिब एक वर्षदेखि अवैध रुपमा भित्रेका ६ वटा कारहरुको मुद्दा टुंगिएको थिएन’, उनले भने, ‘फेरि दुई वटा टेस्ला कार नेपालमा बिना एजेन्शी दर्ता भएर ल्याइएको छ, वेस्टारले एक वर्ष अघि मगाएको एउटा टेस्ला कारको बारेमा मुद्दा लडिरहेकोले अर्को फर्म खडा गरी मगाएको छ।’

दशैँभन्दा अघि डेढ महिना पहिले थप दुई वटा टेस्ला रेलबाट श्रीसिया भन्सार कार्यालयको यार्डमा झारिएको थियो। उनले गाडी छुटाउन आयातकर्ता नआएकाले वेस्टारको अर्को फर्म वा साझेदारक कम्पनीको खुल्न नसकेको बताए।

नेपालको आर्थिक ऐनमा विदेशमा उत्पादन हुने कार कम्पनीको बिक्रेता वा एजेन्सी नेपालमा नभएको खण्डमा उक्त कम्पनीको कार भित्र्याउन पाइदैन। भित्र्याइएमा त्यसलाई गैरकानुनी मानिन्छ। तर, नेपाली कार आयातकर्ताहरुले चोर बाटोबाट ती ६ वटा कार भित्र्याएका थिए। २०१९ सेप्टेम्बर ७ का दिन किशोर गियरले २ वटा विद्युतीय ज्यागुअर अवैध रुपमा मगाएको थियो भने त्यसको चार दिनपछि अर्थात सेप्टेम्बर ११ मा वेस्टार ग्लेक्सीले एउटा पेट्रोलबाट चल्ने टेस्ला कार वीरगंज भित्र्याएको थियो। त्यसैगरी, पिन्सा मोटर्स प्रालि काठमाडौंले २०१९ नोभेम्बर ११ मा ३ वटा आउडी कार अवैध रुपमा भित्र्याएको भन्सार अधिकारीहरु बताउँछन्।

गत जेठ १५ को बजेट भाषणमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले अवैध रुपमा भित्रिएको गाडीको हकमा ३० प्रतिशत जरिवान लिई गाडीको जाँचपास गर्ने गरी बाटो खोलेपनि ती ६ वटा गाडी आयातकर्ताले जाँचपास गर्नूको सट्टा अदालतमा मुद्दा लड्न पुगेका छन्। प्रिन्सा मोटर्सले ३ वटा आउडीको हकमा जाँचपास हुनु पर्ने सर्वोच्च अदालतमा रिट गरेपछि अहिले सर्वोच्चले प्रिन्सा मोटर्सको रिट खारेज गरेको छ भने किशोर गियरले दुई वटा ज्यागुआर र वेस्टार ग्लेक्सीले एउटा टेस्ला कार छुटाउन जनकपुर उच्च अदालत अस्थायी ईजलाश वीरगंजमा रिट हालेको छ। जसमा अदालतको आदेश आउन बाँकी छ।

भन्सार अधिकृत चूडामणी शार्माले भने, ‘हामीले पनि जवाफ पेश गरिसकेका छौं, एक पटक सुनुवाई पनि भइसकेको छ, अदालत स्रोतका अनुसार एउटै प्रकृतिको मुद्दामा सर्वोच्चले एक जना आयातकर्ताको रिट खारेज गरिसकेको अवस्थामा उच्च अदालतले पनि गैरकानुनी रुपमा भित्रिएको गाडीको हकमा उस्तै आदेश गर्ने विश्वास छ।’

यसअघि किशोर गियर प्रालिले मगाएको पेट्रोलबाट चल्ने १ ग्यागुआर र ४ वटा रेन्ज रोभर गरी ५ वटा गाडीको हकमा एक पटकको लागि भित्र्याउन दिने भनेर पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद् स्तरीय निर्णय गरेपछि जाँचपास भइ गाडी छुटी सकेको छ। यसअघि पनि प्रिन्सा मोटर्सले तीन वटा आउडी कार अवैध रुपमा भित्र्याएर काठमाडौंको ग्राहकलाई बेचेको घटना सार्वजनिक भएको थियो।

विद्युतीय कारमा भन्सार महसुल ८० प्रतिशत, अन्तुशल्क ६० प्रतिशत, भ्याट १३ प्रतिशत र ८ प्रतिशत सडक सम्भार दस्तुर लाग्छ। यता विद्युतीय कारको भन्सार महसुलमा ५० प्रतिशत कम राजश्व लाग्छ भने अन्तशुल्क लाग्दैन। यसको भ्याट १३ प्रतिशत र सडक सम्भार दस्तुर ८ प्रतिशत लाग्ने नियम छ। यी कारहरु खरिद र राजश्व जोड्दा साढे ३ देखि ४ करोड पर्छ भने अहिले जरिबाना तिरेर छुटाउँदा ५ करोड सम्म पर्ने भएकोले आयातकर्ताहरु ३० प्रतिशत जरिबाना तिरेर गाडी छुटाउन नमानेर अदालत गएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell